Posts

Showing posts from February, 2021

प्रधानमन्त्री ओलीको बोली

Image
- सूर्यप्रकाश कँडेल प्रधानमन्त्री केपी शर्मा ओली उनको बोलीका लागि चर्चित छन् । आफ्ना भाषणहरुमा विरोधीलाई भित्तामा पु¥याउने शैलीमा उनको बोली निस्कन्छ । उनकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको निर्णय फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । यस घटनाले प्रधानमन्त्री ओलीलाई कुनै फरक पारेको छैन । दुई वर्ष अवधि बाँकी छँदै संसद विघटन गरेका प्रधानमन्त्री ओलीले नैतिकता देखाएर राजीनामा दिन्छन् कि भन्ने झिनो आशा पनि मेटिएको छ । संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने पक्कापक्की भएको वर्तमान अवस्थामा पनि प्रधानमन्त्री ओली भने कमजोर देखिएका छैनन् । उनले ताकत भए आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन खुल्ला चुनौती दिएका छन् । गृहजिल्ला झापामा आइतबार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोध गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता (प्रचण्ड माधव समूहका अध्यक्ष) लाई ‘झुसेबारुला’ भन्दै यस्तो खुल्ला चुनौती दिएका हुन् । झापामा कुर्लंदै भाषण गरेका प्रधानमन्त्री ओलीको बोली यस्तो थियो

यो जित कसको ? लोकतन्त्रको

Image
 - सूर्यप्रकाश कँडेल हो, सर्वोच्च अदालतले मंगलबार ऐतिहासिक फैसला गर्दै लोकतन्त्रलाई हार्नबाट जोगाएको छ । निरंकुशतन्त्रको बुटमुनि कुल्चिएर मर्नबाट जोगाएको छ । लोकतन्त्रको यो जितमा देशवासी खुसी भएका छन् । खुसी साटासाट गर्दै दीपावली गरेका छन् । आफ्नै पार्टीभित्रको किचलो बढ्दै जाँदा सत्ताबाट बाहिरिनु पर्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसलाई आँखा चिम्लेर राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपनि प्रधानमन्त्री ओलीको कदम गलत प्रमाणित गर्दै सर्वोच्च अदालतले बदर गरेपछि लोकतन्त्रले जितेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईपछि सर्वोच्च अदालतले संविधानको भावना र मर्मअनुसारको फैसला दिएको छ । सर्वोच्च अदालत सारा नेपालीहरुको धन्यवादको भागी बनेको छ । कार्यपालिकाबाट व्यवस्थापिकामाथि भएको हमला निस्तेज पारेर न्यायालयले आफ्नो साख जोगाएको छ । नियम, कानुन, ऐन, संविधान सबै मिच्न उद्दत देखिएका प्रधानमन्त्री ओलीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि जनता समाजवादी पार्टीसम्म

न्यायपालिकामाथि कार्यपालिकाको धम्की ?

Image
- सूर्यप्रकाश कँडेल लोकतन्त्र ओदानजस्तै छ । ओदानका तीन खुट्टाजस्तै लोकतन्त्रका पनि तीन वटा खम्बा छन् । न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका लोकतन्त्रका तीन खम्बा हुन् । न्यायपालिका भनेको अदालत हो । नेपालको सर्वोच्च अदालतमा यतिबेला संसद विघटन विरुद्धका रिटमाथि सुनुवाई सकिएर फैसलाको तयारी भइरहेको छ । व्यवस्थापिका भनेको संसद हो । कार्यपालिका भनेको सरकार हो । हामीकहाँ अहिले कार्यपालिकाले व्यवस्थापिकामाथि हमला गरेको छ । अर्को शब्दमा भन्दा आफू सत्ताबाट बहिगर्मन हुनु पर्ने त्रासमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरेका छन् । यो व्यवस्थापिकामाथि मात्र नभई लोकतन्त्रमाथिकै हमला हो । लोकतन्त्रको एउटा बलियो खम्बा कार्यपालिकालाई ठनक्कै भाँचेका प्रधानमन्त्री ओलीले पछिल्लो समय न्यायालयमाथि समेत हमला गरेका छन् । दुई दिनअघि विराटनगरमा आयोजित सभामा उनले दिएको अभिव्यक्ति स्वतन्त्र न्यायपालिकामाथिको हमला नै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा उनको दलले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा घुमाउरो पारामा सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला ग¥यो भने त्य

त्यो साउन १०, यो माघ २१

Image
 – सूर्यप्रकाश कँडेल मानिसहरु केही वर्षपछि कुनै घटना चटक्कै बिर्सन्छन् । तर केही घटना यस्ता हुन्छन्, जसलाई लामो कालखण्डसम्म बिर्सन सकिँदैन । अढाई वर्षअघि कञ्चनपुर जिल्लामा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना त्यस्तै बिर्सन नसकिने घटना हो । घटना भएको अढाई वर्ष बितिसक्दा पनि निर्मला पन्तको परिवारले न्याय पाउन सकेको छैन । निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधी खुला आकासमुनि कतै घुमिरहेको होला, अनि हाम्रो समाज, सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि अट्टहास गरिरहेको होला । साथी भेट्न भनी साइकलमा २०७५ साल साउन १० गते दिउँसो घरबाट निस्किएकी निर्मला पन्त त्यस दिन घर फर्किइनन् । भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा उनको शव घरदेखि केही पर उखुबारीमा भेटियो । उनकोे बलात्कार र हत्या गर्ने अपराधी भने अहिलेसम्म भेटिएका छैनन् । अढाई वर्षपछि बैतडीकी एक किशोरीले निर्मला पन्तकै नियति भोग्नु परेको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहान खाना खाएर विद्यालय गइन्, तर साँझसम्म घर फर्किनन् । दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर

कसरी होला र खै निर्वाचन ?

Image
 – सूर्यप्रकाश कँडेल कसैले सोच्दै नसोचेको, खोज्दै नखोजेको कदम चालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरे । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस सदर गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल वैशाख १७ गते र २७ गते गरी दुई चरणमा निर्वाचन गराइने बताइन् । सरकारले वैशाख १७ गते र २७ गते निर्वाचन हुने प्रदेशहरु पनि तोकिसकेको छ । सरकारले सहजै निर्वाचन हुन लागेजस्तै गरेर विभिन्न निर्णय गरेपनि मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन । सरकारले आमनिर्वाचनको राग अलापिरहँदा सडकमा प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् । सत्ताधारी दलभित्रको विवाद उत्कर्षमा पुगेपछि आफू सत्तामा रहिरहन प्रधानमन्त्री ओलीले असंवैधानिक कदमको सहारा लिन पुगे । उनको यस कदमको नागरिक समाज र राजनीतिक दलले अलगअलगरुपमा विरोध गरिरहेका छन् । सत्तारुढ दलकै मुख्य घटक प्रचण्ड–माधव समूहले सडक आन्दोलन चर्काएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आन्दोलनको मैदानमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताको विवादले पनि निर्वाचन हुने सम्भावना श

‘राष्ट्रपतिज्यू, संसद विघटन किन र केका लागि ?’

Image
देश अकस्मात राजनैतिक अस्थिरताको बाटोमा अगाडि बढेको छ । जनताका प्रतिनिधिहरुको साझा थलो संसद विघटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा आमनिर्वाचन हुने गरी संसद विघटन गरेकी हुन् । संविधानका ज्ञाताहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई संविधानमाथि ‘कु’ बताएका छन् । गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कु’ गरेको उनीहरुको भनाई छ । प्रधानमन्त्रीको गैरसंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपति भण्डारीसमेत मतियारका रुपमा देखा पर्नु गलत छ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम बेठिक छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको यस कदमले संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी उनीहरुले नै लिनुपर्ने हुन्छ ।  नेपालको संविधानले कुनै पनि बहानामा प्रधानमन्त्रीले संसद विघटनको अधिकार दिएको छैन । संसद र व्यवस्थालाई बन्धक राखेर राजनीतिक स्थायित्वमाथि धावा बोल्ने काम कसैले गर्न नसकोस् भनेर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको हो

अस्ताए खम्बासिंह कुँवर ‘काजीबा’

Image
चितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । काजीबालाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार थिए । आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका ११ सन्तानमध्ये कान्छा काजीबाको जन्म १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा भएको थियो । २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका खम्बासिंहका सात जना दाजु र तीन जना दिदीले यो संसार छाडिसकेका छन् । पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस

ऊर्जाले ल्यायो मधु र मायाको जीवनमा सफलता

Image
मुग्लिन (चितवन) । खुसीको प्रतीक उज्यालोले सफलता पनि ल्याउँदोरहेछ । यसले लैङ्गिक समानताको मुद्दालाई समेत अगाडि बढाउँदोरहेछ । घरभित्रै पिल्सिएका महिलालाई खुला आकासको स्वतन्त्रता दिँदोरहेछ उज्यालोले । ऊर्जाको आडमा सफलताको शिखर चढिरहेका महिलाहरुको प्रतिनिधि पात्र हुन् मधु श्रेष्ठ र माया सिलवाल । मुग्लिनका होटल व्यवसायी मधु र मायालाई व्यावसायिक सफलताको स्वाद दिएको हो इच्छाकामना गाउँपालिकामा २२ महिनादेखि सञ्चालित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ऊर्जा क्षेत्रको क्षमता अभिवृद्धि कार्यक्रमले । यस कार्यक्रमले अपेक्षा गरेका तीन वटा मुख्य नतिजामध्ये नतिजा दुई ‘महिला, गरिब एवम् पिछडिएका वर्गहरुले ऊर्जा प्रविधि तथा सेवाको उत्पादनमूलक प्रयोग’ रहेको छ । कार्यक्रमको रणनीतिक साझेदार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, तीन वटा साझेदार संस्थामध्ये एक ग्रामीण प्रविधि केन्द्र र मुग्लिनमा रहेको मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच २०७५ फागुनमा समझदारीपत्रका हस्ताक्षर भएपछि ‘नतिजा दुई’ परियोजना लागु भएको हो । यही परियोजना अन्तर्गत आयोजित सीपमूलक तालिममा सहभागी हुने अव

शहीद दिवसमा चितवनका तीन स्रष्टासँग सम्वाद

Image
 कावासोती । नवलपरासी (सुस्तापूर्व) को कावासोतीमा शुक्रबार शहीद दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चितवनका तीन जना स्रष्टासँग सम्वाद गरिएको छ । साधना संगम नवलपुरसँगको सहकार्यमा सायरा इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा मोसो उपन्यासका लेखक सूर्यप्रकाश कँडेल, एकान्तवास लकडाउन डायरीका लेखक विनोदबाबृु रिजाल र कुमाता कथा संग्रहका लेखक वसन्त पराजुलीसँग सम्वाद गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले कुनैबेला आफूले पनि पत्रकारिता गरेको सम्झना सुनाए । ‘मैले पनि विकृति र विसंगतिका विरुद्धमा कलम चलाएको छु’ लामिछानेले भने, ‘अहिलेका पत्रकारले पनि विकृतिका विरुद्ध अविराम कलम चलाउनुपर्छ ।’  तीनै जना पत्रकारले पत्रकारिता सँगसँगै पुस्तक लेखनमा पनि अग्रसर हुनुभएकोमा आफ्नो पेशा प्रति ठूलो उपलब्धि भएको उनले बताए । ‘हरेक पत्रकारले आफ्नो पेशासँगसँगै नयाँपन र खोजी सहितको सामग्री किताबका रूपमा ल्याउन जरुरी छ’ लामिछानेले भने, ‘धेरै पछि यसरी साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफूम

उपन्यास ‘मोसो’मा पत्रकारिता क्षेत्रको विकृति भेटिन्छ : कँडेल

Image
 चितवनको पत्रकारिता क्षेत्रमा चिरपरिचित नाम हो – सूर्यप्रकाश कँडेल । उनको परिचय अब पत्रकारितामा मात्र सीमित रहेन । चितवन भरतपुर महानगरपालिका ४, त्रिचोकका स्थायी बासिन्दा कँडेलले आफ्नो परिचय साहित्य क्षेत्रमा पनि दरिलो बनाएका छन् । उनले उपन्यास ‘मोसो’ बजारमा ल्याएर आफ्नो परिचय फराकिलो बनाएका हुन् ।  वाणिज्य शास्त्रमा स्नातक गरेका कँडेलसँग अन्नपूर्ण पोष्ट, नागरिक दैनिकलगायत आधा दर्जनभन्दा बढी स्थानीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।  २०५५ साल असोजबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका कँडेलले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकमा चितवनको संवाददाता भएर समाचार लेखेका थिए । हाल सफल खबर डट कमको समाचार सम्पादक एवं नागरिक दैनिकको चितवन संवाददाता रहेका कँडेलले दुई दसकभन्दा बढी समय साहित्य सिर्जनामा बिताएका छन् । मुक्तक, गीत, गजल र लघुकथा लेखनमा दख्खल भएका कँडेलले मोसो नामको उपन्यास बजारमा ल्याएका छन् । आज शनिबार उनको यो पुस्तक विमोचन हुँदैछ ।  उनले विभिन्न पत्रपत्रिकामा गीत, गजल, मुक्तक, लघुकथा फुटकररुपमा प्रकाशित गरेका छन् । उनको यो पुस्तक युरेका पब्लिकेसन प्रालिले बजारमा ल्याएको छ । उपन्यासकार