त्यो साउन १०, यो माघ २१

 – सूर्यप्रकाश कँडेल

मानिसहरु केही वर्षपछि कुनै घटना चटक्कै बिर्सन्छन् । तर केही घटना यस्ता हुन्छन्, जसलाई लामो कालखण्डसम्म बिर्सन सकिँदैन । अढाई वर्षअघि कञ्चनपुर जिल्लामा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना त्यस्तै बिर्सन नसकिने घटना हो । घटना भएको अढाई वर्ष बितिसक्दा पनि निर्मला पन्तको परिवारले न्याय पाउन सकेको छैन । निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधी खुला आकासमुनि कतै घुमिरहेको होला, अनि हाम्रो समाज, सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि अट्टहास गरिरहेको होला । साथी भेट्न भनी साइकलमा २०७५ साल साउन १० गते दिउँसो घरबाट निस्किएकी निर्मला पन्त त्यस दिन घर फर्किइनन् । भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा उनको शव घरदेखि केही पर उखुबारीमा भेटियो । उनकोे बलात्कार र हत्या गर्ने अपराधी भने अहिलेसम्म भेटिएका छैनन् । अढाई वर्षपछि बैतडीकी एक किशोरीले निर्मला पन्तकै नियति भोग्नु परेको छ ।



बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहान खाना खाएर विद्यालय गइन्, तर साँझसम्म घर फर्किनन् । दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथी भट्टको शव भोलिपल्ट सडकबाट करिब ५० मिटर तल झाडीमा भेटियो । खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा भागरथी बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको अवस्थामा भेटिइन् । बैतडीकी भागरथी भट्टले पनि कञ्चनपुरकी निर्मला पन्तकै नियति भोगिन् । २०५५ सालको साउन १० गते र २०७७ सालको माघ २१ गते उस्तैउस्तै दिन बने पन्त र भट्टका लागि । नेपाली समाजमा जघन्य अपराधको कालो बादल पुनः मडारियो । दुवै घटनामा प्रहरीले अनुसन्धान त गरेकै हुन् । तर निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेनन् । बैतडीकी भट्टको हत्या आरोपमा भने घटना भएको दुई साताभित्रै प्रहरीले एक किशोर अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीले भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा बुधबार बैतडीमा सार्वजनिक गरेको १६ वर्षीय किशोर चडेपानी गाउँकै दिनेश भट्ट हुन् । उनी भागरथी पढ्ने विद्यालयमा नै कक्षा ११ मा पढ्छन् । प्रहरीका अनुसार अभियुक्त दिनेशले भागरथीको हत्या आफूले गरेको भनी स्वीकार गरेपनि बलात्कार गरेको भन्ने आरोप अस्वीकार गरेका छन् । भागरथीको शवको शल्यपरीक्षण प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट) मा बलात्कार भएको र घाँटी थिचेको कारणले मृत्यु भएको उल्लेख छ । एउटाले बलात्कार गर्ने र अर्कोले आएर हत्या गर्ने कुरा स्वाभाविक हुँदैन । त्यसैले अभियुक्त दिनेशको दाबी हास्यास्पद देखिन्छ । प्रहरीले विधिविज्ञानको सहारा लिएर गतिलो अनुसन्धान गरी भागरथीको बलात्कार र हत्या गर्ने अपराधीलाई सजाय गर्नु पर्छ । यो घटनाको सफलताबाट पाठ सिकेर निर्मला पन्तको हत्यारालाई पनि कानुनको कठघरामा उभ्याउनु पर्छ । अनि हाम्रो समाजमा अब कोही बालिका, किशोरी, युवती र वृद्धाले बलात्कार भोग्न नपरोस् भनी सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाउनु पर्छ । घटना हुनुभन्दा पहिले नै हाम्रा चेली सुरक्षित हुनु पर्छ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला