ऋतुका रङहरु खोज्ने कवि कुमाराज

- सूर्यप्रकाश कँडेल - 

खासमा उनी शिक्षक हुन्, पढाउँछन् । नेपालमा १९ वर्षसम्म शिक्षण पेशामा रहेका उनले हाल दक्षिण अष्ट्रेलियाको राजधानी शहर एडिलेडमा पढाउँछन् । नौ वर्षअघि पढ्नका लागि अष्ट्रेलिया हानिएका उनले टिइएसओएल मा स्नातकोत्तर तहको पढाई पूरा गरे । टिइएसओएलको पूरा रुप टिचिङ इंग्लिस टु द स्पिकर्स अफ अदर ल्याङ्ग्वेज हो । यसको अर्थ अन्य भाषी वक्ताका लागि अंग्रेजी शिक्षण भन्ने हुन्छ । सारमा बुझ्नु पर्दा उनले दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित टेक्निकल एण्ड फरदर एजुकेसन नामक सरकारी क्याम्पसमा अंग्रेजी विषय पढाउँछन् । यस क्याम्पसमा उनले पढाउन थालेको ४ वर्ष भयो । त्यसअघि उनले २ वर्ष मिरिडियन भोकेसनल कलेजमा पढाए । उनी हुन्, रत्ननगर ६ बछौली घर भएका कवि कुमाराज सुवेदी ।


हो, उनी कवि हुन् । नेपाली भाषामा मात्र नभई अंग्रेजी भाषामा समेत उनले कविता लेखेका छन् । उनले लेखेका अंग्रेजी कविताहरुको संग्रह ‘द कलर्स अफ स्प्रिङ’ वैशाख महिनाभित्रै विमोचन हुँदैछ काठमाडौँमा । यस कवितासंग्रहको प्रकाशन साहित्यपोस्ट डट कमले गरेको हो । यसमा ७७ वटा छोटा कविता समावेश छन् । उनले लेखेका नेपाली कविताहरुको संग्रह २०८० सालभित्रै प्रकाशन गर्ने तयारी भइरहेको कवि कुमाराजले जानकारी गराए । यसअघि उनले आफ्ना विद्यार्थी सुन्दर अधिकारीले लेखेको पुस्तक ‘गैँडाको अन्तरआत्मा’ लाई अंग्रेजीमा अनुवाद गरेका थिए । यो पुस्तक आख्यान भएको र अंग्रेजी नाम ‘द भ्वाइसेज् अफ इनर सोल’ राखिएको सुवेदीले जानकारी दिए ।

झुवानी माध्यमिक विद्यालयबाट २०४९ सालमा एसएलसी उत्तीर्ण गरेका सुवेदीले मानविकी संकायमा प्रवीणता प्रमाणपत्र तह (आइए) र स्नातक तह (बिए) सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरबाट सिध्याएका हुन् । उनले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट अमेरिकन र ब्रिटिस साहित्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । शिक्षक हुँदाका सुरुवाती दिनमा जिरौना निम्न माध्यमिक विद्यालय, पञ्चकन्यामा २ वर्ष पढाएका उनले त्यसपछि निरन्तर १७ वर्ष बछ्यौली माध्यमिक विद्यालयमा पढाए । ‘जागिरभन्दा पनि पढाईलाई प्राथमिकतामा राखेकोले म सन् २०१४ मा पढ्नको लागि अष्ट्रेलिया पुगेँ’ सुवेदी भन्छन्, ‘आयोगको परीक्षा दिएर माध्यमिक तहमा नाम निकालेकै वर्ष म अष्ट्रेलिया उडेँ ।’

शिक्षण र साहित्य सिर्जनालाई सँगसँगै अगाडि बढाएका सुवेदी नेपालमा रहँदा मञ्जरी नामक साहित्यिक मासिक पत्रिकाको सम्पादक थिए । उनका कविता, लेखहरु सम्प्रेषण, चितवन पोष्टलगायत पत्रपत्रिकामा प्रकाशित हुन्थे । कविता, गीत र गजल प्रकाशनको यो शृंखला अहिलेसम्म जारी छ । उनले अंग्रेजी तथा नेपाली भाषामा लेखेका कविता, गजल विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित हुँदै आएका छन् । सेतो पाटी, द गोर्खा टाइम्स, साहित्यपोष्ट, अक्षराङ्क, द राइजिङ जुनकिरी, नेपाल नाम्चालगायत अनलाइनमा उनका दर्जनभन्दा बढी रचना प्रकाशित छन् । उनी दक्षिण अष्ट्रेलियामा रहेका साहित्यिक संस्था फ्रेन्डली स्ट्रिट पोएट्स र ट्राम्स इन्ड्स पोएट्समा आवद्ध छन् ।

०००

मुहार उही, मुस्कान उही, फरक किन गाजल

नृत्य उही, संगीत उही, फरक प¥यो मादल

दृश्य उही, नजर उही, फरक प¥यो गाउँ

नदी उही, माझी उही, मात्र फरक नाउ

रोदन दुई, पीडा उही, कसो गरौं भन

हाँसेजस्तो तिमी गर, म बुझाउँला मन

(अनुत्तरित प्रश्न, सेतोपाटी)

०००

निरन्तर परिरहेछ हिउँं

कपासको भुवासरी

चुम्दछ मेरा ओठहरू ।

शीतल, कोमल

तिम्रो माया जस्तै,

फरक यत्ति कि

हिउँं बिस्तारै जम्दछ

तिमी बिस्तारै पग्लिन्छौ

(तिमी र हिउँं, राइजिङ जुनकिरी)

०००

अत्तर बनोस् तिम्रो श्वास

याद बनोस् साथ

आँखा तिम्रो ज्योति बनून्

सहारा बनून् हात ।

छलीछली नजर मिलोस्

मुस्कान एकैनास

थोपाथोपा बनोस् प्याला

संगीतमय होस् साथ ।

(किनकि तिमी खास छौ, अक्षरंग)

०००

उनको यादमा उसले धेरै रात काटेको छ

रस दिई उसले आफैँ हात चाटेको छ

(गजल, जनतापत्र)

०००

तिम्रो मनको बगैंचामा

बारूलाको घर

भुर्र गर्दै डसी सक्यो

किन मान्छ्यौ डर ?

हिजोजस्तो लाग्छ मलाई

ती नजर जुधेको

कडा रैछ खिल तिम्रो

छातीमा बिझेको ।

(गीत, साहित्यपोष्ट)

०००

माथि प्रस्तुत कविता, गजल र गीतका अंशले नै कवि कुमाराजको परिचय दिन्छन् । फरक शैलीमा लेख्ने उनको विचारमा कविता के हो त ? उनी भन्छन्, ‘कविता अन्तरमनको आवाज हो, जुन शान्त वातावरणमा सिर्जना गरिन्छ । र, यो सर्वसाधारणले पनि बुझ्न सक्ने सरल भाषामा लेखिनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले भनेजस्तै उनका कविता सरल छन्, जो कोहीले बुझ्न सक्ने ।

आफूभित्रको उत्साह, उमंग, अशान्ति, प्रेम, घृणा व्यक्त गरेर आनन्द महसुस गर्न कविता लेख्ने गरेको बताउने सुवेदी आफ्ना लागि कवितालेखन एक किसिमको उपचार (थेरापी) नै भएको दाबी गर्छन् ।बसाइँसराई, प्रेम, राजनीति, प्रकृति, धर्म, महिला उत्पीडनका विषयमा कविता लेख्दै आएका सुवेदी साहित्यिक गतिविधि अष्ट्रेलियामा भन्दा नेपालमा बढी हुने गरेको सुनाउँछन् । अष्ट्रेलियामा पूर्णकालीन लेखक भएर बाँच्न सकिने बताउँदै सुवेदी त्यहाँ राज्यले र समाजले लेखक, कवि, कलाकारलाई सम्मानपूर्वक हेर्ने परिपाटी रहेको बताउँछन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथा, व्यथा लेख्ने काम सुरु भएको भन्दै उनले खुसी व्यक्त गरे । 

अष्ट्रेलियामा अंग्रेजी भाषाका पुस्तकहरुको बजार राम्रो रहेको उनको भनाइ थियो । त्यही भएर उनले नेपाली कवितासंग्रहभन्दा पहिले अंग्रेजी कवितासंग्रह निकालेका हुन् त ? गम्भीर मुद्रामा उनी जवाफ दिन्छन्, ‘नेपाली साहित्य विश्वका अन्य साहित्यभन्दा कम छैन । नेपाली साहित्यको स्वाद विश्व बजारले चाख्न पाएको छैन, जति चाख्न पाइएको छ, ती अनुवाद भएकाले मौलिक स्वादका छैनन् । अब भने अनुवाद नै भए पनि नेपाली साहित्य विश्व बजारमा पुग्न सुरु भएको छ । इन्टरनेटले गर्दा पहुँच बढेको छ, बिस्तार भएको छ ।’

शिक्षक हुनु र कवि हुनुमा कुन भूमिका सजिलो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘दुवै भूमिका उत्तिकै जिम्मेवारीपूर्ण छन् । कवि भएर लेख्दा पाठकप्रति जिम्मेवार हुनुप¥यो । शिक्षक भएर पढाउँदा विद्यार्थीप्रति जिम्मेवार हुनुप¥यो ।’ नेपालको साहित्य र शिक्षा क्षेत्रमा देखिएको गुटबन्दीप्रति भने उनले निराशा व्यक्त गरे ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला