Posts

Showing posts from September, 2011

दसा नबनोस् दसैं

हिन्दूहरुको महान चाड दसैं सुरु भएको छ । घटस्थापनाबाट सुरु हुने दसैं पूर्णिमासम्म १५ दिन धुमधामले मनाउने गरिन्छ । दसैंको अवसरमा मिठो खाने र राम्रो लगाउने चलन परम्परादेखि चलिआएको छ । पछिल्लो समयमा मिठो खाने र राम्रो लगाउने होडबाजीमा फजुल खर्च बढेको पनि पाइएको छ । हुनेखानेको सिको गरेर हुँदा खाने वर्गले पनि सकीनसकी मिठो खाने र राम्रो लगाउने चक्करमा ऋण काढेरै भएपनि खर्च गर्ने प्रवृत्ति अझै रोकिएको छैन । हरेक चाडपर्वको आफ्नै धार्मिक साँस्कृतिक र सामाजिक महत्व हुन्छ । धार्मिक हिसाबले असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा दसैं मनाउने गरिन्छ । दसैंमा मान्यजनको हातबाट टिका र जमरासँगै आशीर्वाद लिने सामाजिक परिपाटी छ । दसैंमा टाढा टाढा रहेका सदस्य घर फर्कने हुँदा सामाजिक दृष्टिकोणबाट दसैंको महत्व अझ बढी छ । यति हुँदाहुँदै पनि दसैंमा अरुको देखासिकी गरेर नसक्नेले पनि फजुल खर्च गर्नाले दसैं हुँदा खानेहरुको लागि दसा पनि बन्न पुग्छ । आफ्नो गच्छे अनुसार खाने लाउने र दक्षिणा दिने नगरेर "अरुभन्दा म के कम" भन्ने भावनाले खर्चमा नियन्त्रण नगर्दा दसैं अधिकांश नेपालीका लागि दसा बन्न पुगेको हो ।