दसा नबनोस् दसैं

हिन्दूहरुको महान चाड दसैं सुरु भएको छ । घटस्थापनाबाट सुरु हुने दसैं पूर्णिमासम्म १५ दिन धुमधामले मनाउने गरिन्छ । दसैंको अवसरमा मिठो खाने र राम्रो लगाउने चलन परम्परादेखि चलिआएको छ । पछिल्लो समयमा मिठो खाने र राम्रो लगाउने होडबाजीमा फजुल खर्च बढेको पनि पाइएको छ । हुनेखानेको सिको गरेर हुँदा खाने वर्गले पनि सकीनसकी मिठो खाने र राम्रो लगाउने चक्करमा ऋण काढेरै भएपनि खर्च गर्ने प्रवृत्ति अझै रोकिएको छैन ।

हरेक चाडपर्वको आफ्नै धार्मिक साँस्कृतिक र सामाजिक महत्व हुन्छ । धार्मिक हिसाबले असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा दसैं मनाउने गरिन्छ । दसैंमा मान्यजनको हातबाट टिका र जमरासँगै आशीर्वाद लिने सामाजिक परिपाटी छ । दसैंमा टाढा टाढा रहेका सदस्य घर फर्कने हुँदा सामाजिक दृष्टिकोणबाट दसैंको महत्व अझ बढी छ । यति हुँदाहुँदै पनि दसैंमा अरुको देखासिकी गरेर नसक्नेले पनि फजुल खर्च गर्नाले दसैं हुँदा खानेहरुको लागि दसा पनि बन्न पुग्छ । आफ्नो गच्छे अनुसार खाने लाउने र दक्षिणा दिने नगरेर "अरुभन्दा म के कम" भन्ने भावनाले खर्चमा नियन्त्रण नगर्दा दसैं अधिकांश नेपालीका लागि दसा बन्न पुगेको हो ।

दसैंलाई दसा बनाउने अर्को कारण मनोराजनका नाममा खेलिने जुवा पनि हो । दसैंदेखि तिहारसम्म नै बालबालिकाहरु लङ्गुबुर्जा खेल्ने गर्छन् भने वयस्कहरु तास खेल्ने गर्छन् । यसरी चाडपर्वको बहानामा खेलिने जुवाले धेरैलाई आर्थिक क्षति पुर् याइरहेको हुन्छ । वर्षभरी नै मिठो खान नसक्नेहरुले दसैंको बेलामा भएपनि मिठो खाने चाहना राख्नु र राम्रो कपडा लगाउने इच्छा पूरा गर्नु आवश्यकताभित्रैको कुरा हो । तर वर्षभरी नै मिठो खान र राम्रो लगाउन सक्ने हैसियत भएकाहरुले चाडको नाममा फजुल खर्च गर्नाले अरुलाई असर पुर् याइरहेको छ । चाडकै बेलामा धेरै खाने परम्पराले खानपिन स्वस्थ्यकर नहुँदा स्वास्थ्यमा समेत असर पार्ने कुरालाई पनि हामीलाई भुल्नु हुँदैन । सबैले मितव्ययी हिसाबले चाडपर्व मनाउने हो भने दसैं कहिल्यै दसा बन्न सक्ने छैन ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला