प्रधानमन्त्री ओलीको बोली

- सूर्यप्रकाश कँडेल

प्रधानमन्त्री केपी शर्मा ओली उनको बोलीका लागि चर्चित छन् । आफ्ना भाषणहरुमा विरोधीलाई भित्तामा पु¥याउने शैलीमा उनको बोली निस्कन्छ । उनकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको निर्णय फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । यस घटनाले प्रधानमन्त्री ओलीलाई कुनै फरक पारेको छैन । दुई वर्ष अवधि बाँकी छँदै संसद विघटन गरेका प्रधानमन्त्री ओलीले नैतिकता देखाएर राजीनामा दिन्छन् कि भन्ने झिनो आशा पनि मेटिएको छ । संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने पक्कापक्की भएको वर्तमान अवस्थामा पनि प्रधानमन्त्री ओली भने कमजोर देखिएका छैनन् । उनले ताकत भए आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन खुल्ला चुनौती दिएका छन् । गृहजिल्ला झापामा आइतबार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोध गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता (प्रचण्ड माधव समूहका अध्यक्ष) लाई ‘झुसेबारुला’ भन्दै यस्तो खुल्ला चुनौती दिएका हुन् ।



झापामा कुर्लंदै भाषण गरेका प्रधानमन्त्री ओलीको बोली यस्तो थियो, “शान्ति, एकता देख्न नसक्ने । बल्लबल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो । लड्डु खाँदै गर्दा ‘हेल्लो...। आपको सहयोगके लिए बहुतबहुत धन्यवाद ।’ कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।” प्रधानमन्त्रीको आसनमा कायमै रहेका ओलीलाई आफू यो आसनबाट हट्नु पर्ला भन्ने चिन्ता फिटिक्कै छैन । विपक्षीसँग मिलेर प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सक्दैनन् भन्नेमा उनी अझै विश्वस्त देखिन्छन् । त्यसैले त उनले झापाको कार्यक्रममा निर्धक्क भने, “केपी ओलीलाई हटाउनुस् । यदि हटाउनु भएछ भने पनि दुईतिहाई ल्याइन्छ । चिन्ता गर्नुपर्ने विषय होइन । लोकतन्त्रलाई तलमाथि हुन दिइँदैन । संविधान समयअनुसार परिमार्जन हुन्छ, तर मर्म र भावना तलमाथि गर्न दिइँदैन ।”

नेपालको राजनीतिक परिस्थिति अस्थिर छ । तर प्रधानमन्त्री ओली दुईतिहाईवाला आफ्नो बोलीमा अझै स्थिर छन् । उनले ताजा जनादेशबाट दुईतिहाई ल्याउने भन्दै संसद विघटन गरेका थिए, जुन सर्वोच्च अदालतको फैसलाले पुनस्र्थापित भइसकेको छ । सोही फैसलामा सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै फागुन २४ गतेभित्र संसद अधिवेशन बोलाउन भनेको थियो । त्यसै अनुरुप सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पठाएको छ । अब प्रतिनिधि सभाको छैठौँ अधिवेशन सुरु भएसँगै संसदीय अंकगणितको खेल पनि प्रारम्भ हुनेछ । त्यो अंकगाणितले प्रधानमन्त्री ओलीलाई पदच्यूत गर्ने सम्भावना प्रबल छ । तैपनि प्रधानमन्त्री ओलीको बोलीमा ‘दम्भ’ यथावत छ । तीन वर्षदेखि सत्ता सम्हालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिकरुपमा दुई चिरा भइसक्यो । पार्टीभित्र अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले अझै चुनावबाट दुईतिहाई ल्याउँछु भन्न छाडेका छैनन् । प्रधानमन्त्री ओलीको बोलीलाई मान्नै पर्छ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला