मतदातालाई ढाँट्ने काम नगरौँ

 /सूर्यप्रकाश कँडेल/

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर पदमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेनु दाहाल आसन्न निर्वाचनमा पनि मेयरकै उम्मेदवार छिन् । बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको रुपमा रहेकी दाहालले अहिले पनि मेयरमा जित्ने दाबी गरेकी छिन् । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका पुराना नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिएको कारण दाहालको दाबी कमजोर बनिसकेको छ । त्यसमाथि उनले ‘प्रचण्डको छोरी भएर मैले केही अवसर पाएको छैन’ भनेर सिधै झुटो बोलेकी छिन् । भरतपुर महानगरको मेयरमा उम्मेदवार हुन र मतपत्र च्यातेर भए पनि जित्न उनलाई उनका पिता पुष्पकमल दाहाल प्रचण्डको ठूलो सहयोग रहेको छ । अहिले पनि नेपाली काँग्रेस चितवनका नेता तथा कार्यकर्ताको ठूलो विरोध रहँदारहँदै पनि रेनुले मेयर पदको टिकट पाइन् । उनले यी सबै अवसर प्रचण्डको छोरी भएकै कारण पाएकी हुन् ।

Photo : Nisha Shrestha   

दोस्रो कार्यकालका लागि मेयरकी आकांक्षी रेनु दाहालसँग नयाँ योजना केही पनि छैन । उनका अन्तर्वार्ता पढ्दा, सुन्दा र हेर्दा यही कुरा प्रष्ट हुन्छ । उनले भरतपुरको समृद्धिको लागि आफूले जग तयार गरेको र त्यसलाई पूरा गर्न आफू नै चाहिने कुतर्क गरिरहेकी छिन् । उनी भरतपुरको मेयर हुनुभन्दा पहिले के भरतपुरमा बाटाघाटा बनेका थिएनन् ? पुलपुलेसा निर्माण भएका थिएनन् ? उनी नहुँदा विकास निर्माणको गति ठप्पै हुने हो ? होइन । उनी असफल मेयर हुन् । उनको कार्यकालमा भएका विकास निर्माणका काम शंकाको घेराभन्दा बाहिर छैनन् । उनले नेतृत्व गरिरहँदा भरतपुर महानगरको आर्थिक पारदर्शिता कमजोर बन्यो । महालेखा परीक्षकको प्रतिवेदनले देखाएका बेरुजुले पनि यी कुरा पुष्टि हुन्छन् ।

विकास निर्माणका काममा पार्टीका मान्छे र आसेपासेलाई ठेक्का दिनेले आर्थिक पारदर्शिताको कुरा गर्नु हास्यास्पद छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिजोग जगजाहेर छ । नारायणी किनारमा सि बीच मोडलको विकास भनेकी छिन् उनले । राप्ती र नारायणी नदी किनारमा बस्नेहरुले बर्सेनि बाढीको कहर भोग्दै आएका छन् । उनीहरुको वासस्थल सुरक्षित गर्ने उनको योजना छैन । छ त केवल नारायणी किनारमा सेल्फी खिच्नेहरुका लागि सि बीच बनाउने कुरा । विकासको प्राथमिकता के हो ? भोकालाई भोजन दिने हो कि सुकिलामुकिलाहरुलाई भतेर लगाउने हो ? मुखले वामपन्थी तर चिन्तन पुँजीवादी भएपछि हुने यस्तै हो । चुनावको मुखमा मतदातालाई ढाँट्ने काम सबै उम्मेदवारले बन्द गरौँ । मतदान गर्ने दिनभन्दा अगाडिसम्म सपना बाँड्ने अनि चुनाव जितेर गएपछि ‘पैसा कमाउने’ धन्दामा लाग्नेहरुलाई मतदाताले यसपटक मतबाटै जवाफ दिनुपर्छ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला