नेपाली काँग्रेसका बागी जगन्नाथ पौडेलको अडान नै जित हो

 – सूर्यप्रकाश कँडेल/

देश स्थानीय निर्वाचनमय बनेको छ । उम्मेदवारको मनोनयन दर्ता, दाबीविरोध, उम्मेदवारी फिर्तासँगै उम्मेदवारलाई निर्वाचन चिह्न दिने काम सकिएको छ । यतिबेला स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बनेकाहरु मत माग्न व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा यसपटक पनि चितवनको भरतपुर सबैको चासोको केन्द्र बन्न पुगेको छ । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चर्चाको शिखरमा छन् । नेपाली कांग्रेसका पुराना नेता पौडेलले पार्टीको निर्देशनमा उम्मेदवारी फिर्ता लिन्छन् कि भन्ने आशंका हटेको छ । कांग्रेस जोगाउन भन्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बागी जगन्नाथले उम्मेदवारी फिर्ता नलिएपछि उनले एउटा लडाइँ जितेका छन् । वैशाख ३० गते हुने गोप्य मतदानको नतिजा पौडेलको पोल्टामा पर्ने वा नपर्ने विषय प्राविधिक हो । मतदाताले चाहेमा उनलाई मत परिणामबाट पनि विजयी बनाउन सक्ने छन् ।

Photo : Rajesh Ghimire  

सत्ता गठबन्धन जोगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर नेकपा (माओवादी केन्द्र) को भागमा दिएका छन् । पाँच वर्षअघि पनि भरतपुरको मेयर माओवादीकै भागमा परेको थियो । पाँच वर्षअघि भरतपुरको मेयर पदमा रुख चिह्नमा मतदान गर्न नपाएका चितौने कांग्रेसीहरुले यसपटक कुनै पनि हालतमा भरतपुरको मेयर नेपाली कांग्रेसले छाड्न नहुने बताउँदै आएका थिए । उनीहरुले केन्द्रसम्म पुगेर भरतपुरको मेयर कांग्रेसको हातबाट फुत्किन नदिन सभापतिलगायत केन्द्रीय नेताहरुसमक्ष अनुरोध गरेका थिए । आफ्नै पार्टीका नेता र कार्यकर्ताको मनोभावना विपरीत सभापति देउवाले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिएपछि एउटा समूह चरम असन्तुष्ट थियो । त्यही असन्तुष्ट समूहको नेतृत्व गर्दै पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पौडेलले चुनाव चिह्न भुइँकटहर पाएका छन् । चितवनमा मात्र नभई देशभर नै यतिबेला पौडेल र उनको चुनाव चिह्न भुइँकटहर चर्चामा छ । सामाजिक सञ्जालमा भुइँकटहरको महिमा गान सुरु भएको छ । जन्मदिनमा केकको साटो भुइँकटहर काट्न थालिएको छ । भुइँकटहर स्वास्थ्यका लागि फलदायी भएको भन्दै चिकित्सकले नै फेसबुक स्टाटस पोष्ट गरेका छन् । गर्मीमा शितलता दिने रुख जस्तै भुइँकटहरले पनि शितलता प्रदान गर्छ है भनेर फेसबुकका भित्ता रंगिएका छन् । नेपाली कांग्रेसले बागी उम्मेदवार जगन्नाथ पौडेल, उनका समर्थक पुराना नेता कृष्णलाल सापकोटा र समर्थक महिला अधिकारकर्मी मीना खरेलमाथि कारबाहीको डण्डा चलाएको छ । यो कारबाहीको डरबाट कत्ति पनि विचलित नभएका पौडेललाई सापकोटा र खरेलमात्र नभई चितवनका सच्चा कांग्रेसहरुले साथ दिइरहेका छन् । बागी उम्मेदवारीका कारण राष्ट्रियरुपमा चर्चामा आएका पौडेललाई जितको शुभकामना ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला