अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

 


- सूर्यप्रकाश कँडेल

वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ... । 

अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप श्रेष्ठको एकल साँझ ‘दीप श्रेष्ठ म्युजिकल नाइट २०२१’ आयोजना हुँदैछ । यो कार्यक्रममा गायक श्रेष्ठले हर रात सपनीमा... सँगै डेढ दर्जन गीत गाउने छन् । करिब दुई घण्टा निरन्तर गीत गाउने तयारीमा उनी जुटेका छन् । यसको चाँजोपाँजो मिलाएको छ भरतपुर–६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेण्ड (एलटिके) फार्म एण्ड रिट्रिटले । संगीताञ्जली नाम दिइएको सांगीतिक कार्यक्रममा बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रमबारे जानकारी दिन एलटिके फार्ममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक दीप श्रेष्ठ पनि उपस्थित थिए । पत्रकारमाझ उनले भने, ‘मैले गाउने अधिकांश गीत नाच्ने खालका हुँदैनन् । यसपटक दर्शक नचाउने एउटा गीत गाउने प्रयासमा छु । म मेरा गीतले मान्छेलाई रुवाउँछु । उनीहरुलाई आआफ्नो अतित सम्झन बाध्य बनाउँछु ।’ एकल साँझमा गायक श्रेष्ठले धेरैजसो पुराना र केही नयाँ गीत गाउने सुर कसेका छन् । ‘२० वटा जति गीत गाउने विचार गरेको छु’ उनले भने, ‘मृत्युसँग लडेर आएपछिको पहिलो कार्यक्रम चितवनमा गर्न पाउँदा खुसी छु । डिसेम्बर १६ मेरो जन्मदिन हो । डिसेम्बरसँगै अंग्रेजी वर्षलाई बाइबाइ गर्ने दिन चितवन आउने अवसर जुरेको छ । आभारी छु चितवनप्रति ।’

गायन रियालिटी शो भ्वाइस अफ नेपाल चलिरहेकै बेला गायक दीप श्रेष्ठलाई कोभिड–१९ को संक्रमण भयो । तीन साताभन्दा बढी अस्पतालमा भर्ना भएका श्रेष्ठले काललाई जितेर फर्किए । उनी भन्छन्, ‘मेरा लागि अहिलेको जीवन पुनर्जन्म नै हो । आउनुहोस्, दीप श्रेष्ठको पुनर्जन्ममा रमाऔँ २०२१ लाई बाइ गर्दै ।’ 

२०२१ लाई बाइ गर्न चितवन नै किन रोजे त उनले ? गायक श्रेष्ठ भन्छन्, ‘न्यू इयर इभको पहिलो प्रस्ताव चितवनबाटै आयो । मलाई जाडोको चितवन मन पनि पर्छ । त्यसैले हुन्छ भनिदिएँ ।’

एलटिके फार्मका संचालकद्वय देवेन लोहनी र सीता गुरुङ लोहनीले अंग्रेजी वर्ष २०२१ को बिदाईसँगै वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ जीवनलाई सेलिब्रेसन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । सांगीतिक क्षेत्रका ज्यूँदा महान हस्ती दीप श्रेष्ठप्रति सम्मान गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उनीहरुको भनाइ छ । सीताले भनिन्, ‘मरेपछिको सम्मान के काम ? हामी दीप दाइलाई जिउँदैमा सम्मान गर्न चाहन्छौँ ।’

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला