अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

 


- सूर्यप्रकाश कँडेल

वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ... । 

अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप श्रेष्ठको एकल साँझ ‘दीप श्रेष्ठ म्युजिकल नाइट २०२१’ आयोजना हुँदैछ । यो कार्यक्रममा गायक श्रेष्ठले हर रात सपनीमा... सँगै डेढ दर्जन गीत गाउने छन् । करिब दुई घण्टा निरन्तर गीत गाउने तयारीमा उनी जुटेका छन् । यसको चाँजोपाँजो मिलाएको छ भरतपुर–६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेण्ड (एलटिके) फार्म एण्ड रिट्रिटले । संगीताञ्जली नाम दिइएको सांगीतिक कार्यक्रममा बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रमबारे जानकारी दिन एलटिके फार्ममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक दीप श्रेष्ठ पनि उपस्थित थिए । पत्रकारमाझ उनले भने, ‘मैले गाउने अधिकांश गीत नाच्ने खालका हुँदैनन् । यसपटक दर्शक नचाउने एउटा गीत गाउने प्रयासमा छु । म मेरा गीतले मान्छेलाई रुवाउँछु । उनीहरुलाई आआफ्नो अतित सम्झन बाध्य बनाउँछु ।’ एकल साँझमा गायक श्रेष्ठले धेरैजसो पुराना र केही नयाँ गीत गाउने सुर कसेका छन् । ‘२० वटा जति गीत गाउने विचार गरेको छु’ उनले भने, ‘मृत्युसँग लडेर आएपछिको पहिलो कार्यक्रम चितवनमा गर्न पाउँदा खुसी छु । डिसेम्बर १६ मेरो जन्मदिन हो । डिसेम्बरसँगै अंग्रेजी वर्षलाई बाइबाइ गर्ने दिन चितवन आउने अवसर जुरेको छ । आभारी छु चितवनप्रति ।’

गायन रियालिटी शो भ्वाइस अफ नेपाल चलिरहेकै बेला गायक दीप श्रेष्ठलाई कोभिड–१९ को संक्रमण भयो । तीन साताभन्दा बढी अस्पतालमा भर्ना भएका श्रेष्ठले काललाई जितेर फर्किए । उनी भन्छन्, ‘मेरा लागि अहिलेको जीवन पुनर्जन्म नै हो । आउनुहोस्, दीप श्रेष्ठको पुनर्जन्ममा रमाऔँ २०२१ लाई बाइ गर्दै ।’ 

२०२१ लाई बाइ गर्न चितवन नै किन रोजे त उनले ? गायक श्रेष्ठ भन्छन्, ‘न्यू इयर इभको पहिलो प्रस्ताव चितवनबाटै आयो । मलाई जाडोको चितवन मन पनि पर्छ । त्यसैले हुन्छ भनिदिएँ ।’

एलटिके फार्मका संचालकद्वय देवेन लोहनी र सीता गुरुङ लोहनीले अंग्रेजी वर्ष २०२१ को बिदाईसँगै वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ जीवनलाई सेलिब्रेसन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । सांगीतिक क्षेत्रका ज्यूँदा महान हस्ती दीप श्रेष्ठप्रति सम्मान गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उनीहरुको भनाइ छ । सीताले भनिन्, ‘मरेपछिको सम्मान के काम ? हामी दीप दाइलाई जिउँदैमा सम्मान गर्न चाहन्छौँ ।’

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह