किन तनावमा छन् प्रचण्ड ?

 


       सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रायः तनावमै देखिन्छन् । कहिले सत्ता गठबन्धनको तनाव त कहिले आगामी निर्वाचनको पिरलो । त्यसमाथि नेकपा (एमाले) को दशौँ महाधिवेशन प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ सम्पन्न भयो । एमाले महाधिवेशन उद्घाटनमा देशभरबाट लाखौँ नेता तथा कार्यकर्ता चितवनमा ओइरिए । यसले पनि प्रचण्डको टाउको दुखाएको छ । एमालेको तामझामले प्रचण्ड आत्तिएको पाइयो । उनको त्यो छटपटीको अभिव्यक्ति हो, उनले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिनु । पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन शनिबार चितवनमा उद्घाटन गर्दै  प्रचण्डले जुन अभिव्यक्ति दिए, त्यसभित्र प्रचण्डको छटपटी र पिरलो प्रष्टरुपले बाहिरिएको छ ।

‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्च¥याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन । यसैगरि लाखौंलाख मान्छे उतारेको पञ्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन ।’ प्रचण्डको यो अभिव्यक्ति अनपेक्षितरुपमा आएको छ । ‘मास बेस्ड’ पार्टीले अधिवेशनमा शक्ति प्रदर्शन गर्नु नौलो कुरा होइन । प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) रुपमा क्रान्तिकारी देखाउन खोजिएपनि सारमा ‘मास बेस्ड’ पार्टी नै बनेको छ । शक्ति छ भने प्रचण्डले पनि प्रदर्शन गरे भयो, कसले छेकेको छ र ? भावी निर्वाचनमा हारिन्छ कि भन्ने हतास मानसिकता प्रकट गर्नुको कुनै अर्थ छैन ।

चितवनमा प्रचण्डका पछिल्ला गतिविधि निर्वाचन केन्द्रित छन् । आगामी वर्षारम्भमै स्थानीय तह र त्यसको ६ महिनामा संघ र प्रदेशको निर्वाचन हुन गइरहेको छ । निर्वाचन आयोगले ती निर्वाचनको मिति घोषणा गरिसकेको छैन । तर निर्वाचनलाई लिएर प्रचण्डको सकस प्रकट हुन थालिसकेको छ । उनलाई आफू र आफ्नी छोरी रेनु दाहालले आगामी निर्वाचन कसरी जित्ने होला ? भन्ने पिरलोले गाँजिसकेको छ । त्यसैले त उनी चितवनमा विकासको लहर आएको दाबी गरिरहेका छन् । गाउँगाउँमा सडक बनेको बताइरहेका छन् । 

रेनु दाहाल महानगरको मेयर हुँदैमा वा प्रचण्ड चितवनको सांसद हुँदैमा बाटा पिच भएका हुन् त ? के पहिले यहाँका बाटा पिच भएकै थिएनन् त ? त्यसो हुँदैहोइन । यो त सरासर जनताको आँखामा छारो हाल्ने काम भइरहेको छ । उनीहरुको ठाउँमा एबिसिडी जो भए पनि विकासको गति रोकिनेवाला थिएन । जनताले यही कुरा बुझेर आगामी निर्वाचन आफूहरुलाई लोप्पा खुवाउने हुन् कि भन्ने पिरलो छ प्रचण्डलाई । त्यसैले त आत्तिएको अभिव्यक्ति दिइरहेका छन् उनी ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला