गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देखियो आर्थिक संकट

 – सूर्यप्रकाश कँडेल

भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग जुटाई निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा चरम आर्थिक संकट देखापरेको छ । करिब एक वर्ष कोरोना कहरको कारण आर्थिक संकलन र निर्माण कार्य प्रभावित बन्यो । अझै पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ । 


आर्थिक संकलनका लागि फाउण्डेसनले सोमबार काठमाडौँमा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान घोषणा गरेको छ । यस अभियान अन्तर्गत व्यक्ति, संस्था र समूहले आफ्नो, परिवारको र संस्थाको नाम कुर्सीमा लेखाउन सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने छ । 

फाउण्डेसनले एक महिनाभित्रै मोबाइल एप्स, फेसबुक र अन्य संचारमाध्यममार्फत कुर्सीमा नाम लेख्नका लागि रकम भुक्तानी लगायतका प्रकृया सार्वजनिक गरिने जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब रुपैयाँ संकलन हुने फाउण्डेशनको अपेक्षा छ ।

उठेन धान्यान्चलको रकम

रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्न गत वर्ष आयोजना गरिएको धान्यान्चलमा बोलिएको ६९ करोडमध्ये १० करोड पनि उठेको छैन । ३० हजार दर्शक क्षमताको रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँभन्दा बढी रकम चाहिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन् । 

रंगशाला निर्माणका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबाट हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको फाउण्डेसनले जनाएको छ । रंगशाला निर्माणमा ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भइसकेको छ । फाउण्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा छ ।

सम्भव थिएन दुई वर्षमा तीन अर्ब संकलन

तीन अर्ब रुपैयाँ अर्थात् तीन सय करोड । लक्ष राखिएको थियो दुई वर्ष अर्थात् सात सय ३० दिन । यस हिसाबले दुई वर्षमा तीन सय करोड रुपैयाँ संकलन गर्न औसतमा दैनिक ४१ लाख रुपैयाँ संकलन हुनुपथ्र्यो । शिलान्यासपछि पैसाको ओइरो नै लागेपनि दैनिक ४१ लाख रुपैयाँ संकलन हुने कुरा सम्भव थिएन ।

चितवन जिल्लाका विद्यार्थीसँग जनही एक सय रुपैयाँ उठाएर, शिक्षक कर्मचारीको एक–दुई दिनको तलब संकलन गरेर, जनप्रतिनिधिले तलबको केही हिस्सा दिएर पनि पाँच, सात करोडभन्दा बढी उठ्ने देखिएन । देशैभर रंगशाला निर्माणका लागि सहयोग गर्ने लहर आएन । आउँथ्यो होला, कोरोना बाधक बन्यो । रंगशाला निर्माणमा रकम संकलन चुनौतीपूर्ण रहेको फाउण्डेसनका अध्यक्ष धुर्मुस नै स्वीकार्छन् । ‘चितवनबाटै सोचेजस्तो रकम उठेको छैन’ उनी भन्छन्, ‘रकम उठ्न असम्भव नै चाहिँ छैन ।’

बित्यो निर्धारित समय

कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० बिगाहा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माण कार्य दुई वर्षभित्र सक्ने भनी निर्धारित समय बितिसकेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच रंगशाला निर्माणबारे २०७५ साल माघ १६ गते सम्झौता भएको  थियो । काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थितिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला