व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन : पौड्याल

सूर्यप्रकाश कँडेल - 

शिक्षण पेशाबाट सेवानिवृत्त उदय अधिकारी नेपाली र अंग्रेजी साहित्यको गहन अध्ययन गर्ने उम्दा पाठक हुन् । गतवर्ष प्रश्न नामक अन्तर्वार्ताको सँगालो पुस्तक प्रकाशित भएपछि उनी लेखकको कित्तामा समेत उभिएका छन् । नेपालका साहित्यकारहरुलाई पछ्याइरहने बानी परेका अधिकारीले प्राध्यापन पेशामा रहेका समालोचक, कवि एवं लेखक महेश पौड्याललाई डेढ दशकदेखि पछ्याइरहेका रहेछन् । उनै अधिकारीले पौड्याललाई गरेका २२ प्रश्न र तिनको जवाफ समेटिएको पुस्तक हो ‘फेसिङ अ लिटिल भल्क्यानो’ । नेपालीमा अथ्र्याउँदा ‘सानोतिनो ज्वालामुखीको सामना’ भन्न सकिएला । यो पुस्तक शनिबार एक समारोहबीच चितवन साहित्य परिषद चितवनको सभाहलमा विमोचन गरिएको छ ।


त्यसो त व्यक्तिगत पीडाको ज्वालामुखी सबैसँग हुन्छ । जीवनको कुनै कालखण्डमा पाइएका दुःख र खाइएका हण्डरको वर्णन जसले पनि गर्न सक्छ तर पौड्यालले त्यस्तो ज्वाला ओकलेका छैनन् पुस्तकमा । ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र के छ त ? बिस्तारै खोतल्दै जाऊँला । अहिले भने पौड्यालकै केही भनाइ यहाँनिर राखौँ । पौड्यालका अनुसार उनले यस पुस्तकमा व्यक्तिगत पीडाका कुरा करिब पाँच प्रतिशतमात्र सार्वजनिक गरेका छन् । ९५ प्रतिशत प्रश्नोत्तर साहित्य र समालोचनामा केन्द्रित छ । व्यक्तिगत पीडा किन पर्याप्त आएनन् त पुस्तकमा ? पौड्याल भन्छन्, ‘व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन । आत्मकथा लेख्ने र लेखाउनेले सोच्नुपर्छ, त्यसको साहित्यिक मूल्य के ? बाबुआमा गुमाएका कथा कसको छैन र ?’

पौड्यालको मनले व्यक्तिगत पीडा पोख्न नखोजे पनि अधिकारीले व्यक्तिगत पीडाकै प्रश्न तेस्र्याइदिएपछि जवाफ त दिनै प¥यो । समग्र २२ वटा प्रश्नमध्ये पौड्यालले सामना गर्नु परेको कठिन प्रश्न व्यक्तिगत पीडा सम्बन्धी नै रहेछ । पौड्याल भन्छन्, ‘व्यक्तिगत प्रश्नको जवाफ दिन मलार्य धेरै कठिन हुन्छ । पीडा, अभाव, टुट्नु, फुट्नु, लड्नु, उठ्नु धेरै घाउ दिएको छ जिन्दगीले मलाई । केही व्यक्तिगत प्रश्नले खाटा बसिसकेका ती घाउ कोट्याउँछन् ।’

‘फेसिङ अ लिटिल भल्क्यानो’ का लेखक अधिकारीले व्यक्तिगत पीडाको ज्वालामुखी सामना गरेका होइनन् भने के सामना गरे त ? के हो त्यो पौड्यालभित्र पाइएको सानोतिनो ज्वालामुखी ? ‘शायद मेरो कर्म’ पौड्यालले भने, ‘समालोचना जोखिमपूर्ण विधा हो । म सधैँ जोखिमपूर्ण विधामा हात हाल्छु । १५ वर्षदेखि समालोचना गर्दै आएको छु ।’

पौड्याल समालोचकमात्र होइनन्, कवि पनि हुन् । उनले कविता लेखेका छन् । गीतकार पनि हुन्, गीत लेखेका छन् । कथाकार पनि हुन् । गतवर्ष उनको कथासंग्रह ‘अपचिरित अनुहार’ सिखा बुक्सबाट बजारमा आएको थियो, जसको दोस्रो संस्करण प्रकाशित भइसकेको छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाउने पौड्याल अनुवादक समेत हुन् । उनले केही कृतिको अंग्रेजी अनुवाद गरेका छन् ।

कसरी जन्म्यो ‘फेसिङ अ लिटिल भल्क्यानो’ ?
वैशाखतिर लेखक उदय अधिकारीले महेश पौड्याललाई इमेलमा केही प्रश्न पठाएर त्यसको जवाफ मागेछन् । पौड्यालले पनि छोटाछोटा उत्तर फर्काएछन् । पौड्यालको उत्तर देखेपछि अधिकारीले भनेछन्, ‘मलाई एउटा प्रश्नको उत्तर कम्तीमा एक हजार शब्दमा चाहियो महेश ।’ अधिकारीको आदेशले पौड्याल सुरुमा त अलमलिए । पछि फुर्सद निकालेर सबै २२ वटा प्रश्नको लामालामा जवाफ लेखेर पठाएछन् । ल्यापटपमा शब्द गन्दा २५ हजारभन्दा माथि पुगेछ । सानोतिनो पुस्तक निकाल्न मिल्ने गरी प्रश्न र उत्तरहरु जम्मा भएपछि लेखक अधिकारीले प्रस्ताव गरेछन्, ‘अब एउटा किताब निकालौँ ।’

नेपाली भाषामा ६ जनाको अन्तर्वार्ता समेटेर ‘प्रश्न’ निकालेका अधिकारीले अंग्रेजी भाषामा ‘फेसिङ अ लिटिल भल्क्यानो’ निकाल्न गरेको प्रस्ताव पौड्यालले सहर्ष स्वीकारे । पौड्यालको एकल अन्तर्वार्तालाई पुस्तकाकार दिने अधिकारीको योजनालाई साथ दिए बिएन पुस्तक संसारका संचालक सूर्य बिसीले । दशैँ र तिहारको बीचतिर पुस्तक प्रकाशन गर्ने योजना अनुसार नै बजारमा आयो ‘फेसिङ अ लिटिल भल्क्यानो’ । ‘उदय सरको सोच हो पुस्तक निकाल्ने कुरा’ महेश पौड्याल भन्छन्, ‘उहाँले तीजताका पुस्तक निकाल्ने योजना सुनाउनु भएको थियो मलाई ।’

के छ ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र ?

नेपाली परिवेशमा अंग्रेजी भाषामा एउटै व्यक्तिको अन्तर्वार्ता पुस्तकका रुपमा आएको छैन । सम्भवतः पहिलो पुस्तक हो, ‘फेसिङ अ लिटिल भल्क्यानो’ । के छ त यसभित्र ?

‘सन्तापको धुन’ कथासंग्रह प्रकाशित गरेर भर्खरमात्र लेखनमा हामफालेका समालोचक एवं नेपाली भाषाका प्राध्यापक अशोक थापा भन्छन्, ‘भाषा सरल छ, प्रस्तुति राम्रो छ । पुस्तकमा समालोचनाको कुरा गरिएको छ । विश्वविद्यालय सिर्जनाको केन्द्र बन्नुपर्छ भनेर इमानदारपूर्वक लेखिएको छ । युवाहरुले पढ्नु पर्छ यो पुस्तक । लेखनमा रुचि राख्नेलाई उत्प्रेरणा दिन्छ यसले ।’ नेपाली साहित्यको इतिहास झल्कने प्रश्न र उत्तर आइदिएको भए विदेशी पाठकले नेपालको साहित्यिक इतिहास थाहा पाउन सहयोग पुग्ने सुझाव छ थापाको ।

पुस्तकभित्रका प्रश्न हटाएर उत्तरहरुलाई मात्र सिलसिला मिलाएर राखिदिने हो भने यो पौड्यालको जीवनी नै बन्ने थापा बताउँछन् । उनी भन्छन्, ‘२२ वटा प्रश्न हटाइदिने हो भने यसमा महेशजीको जीवनी भेटिन्छ । पारिवारिक कुराभित्र पनि सामाजिक पाटो आएका छन् । लेखकले महेशजीलाई लिटरेरी ड्रगिस्ट अर्थात् साहित्यको लती भनेको औधि मन प¥यो मलाई । हामीले साहित्यका धेरै लती उत्पादन गर्नुपर्छ । यस्ता पुस्तक अरु पनि आउनु पर्छ ।’

‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्रका प्रश्न

पुस्तकका लेखक उदय अधिकारीले महेश पौड्याललाई सोधेका प्रश्न कस्ता छन् त ? ती कति अपेक्षित थिए ? कति अनपेक्षित ? पौड्याल भन्छन्, ‘प्रश्नहरु अपेक्षित नै थिए । उदय सरले अन्य साहित्यकारसँग लिएका अन्तर्वार्ता मैले सम्पादन गरेर गोर्खाटाइम्स डट कममा प्रकाशित गरेको छु । त्यसैले पनि म उहाँका प्रश्नहरुसँग परिचित छु ।‘

‘फेसिङ अ लिटिल भल्क्यानो’ का लेखक अधिकारीको प्रश्न सोध्ने आफ्नै शैली छ । उनी सिधै प्रश्न सोध्दैनन् । कुनै प्रसंग अगाडि ल्याएर त्यसमा प्रश्न जोड्छन् । अनिमात्र यसमा तपाईंको धारणा के हो ? भनेर सोध्छन् । यसलाई प्रष्ट पार्दै पौड्यालले भने, ‘फेसिङ अ लिटिल भल्क्यानोभित्रको पहिलो प्रश्न नै १६ वर्षअघि गैँडाकोटमा आयोजित कुनै कार्यक्रममा मलाई भेटेको प्रसंग ल्याएर सोध्नु भएको छ उदय सरले । प्रश्न सोध्ने उहाँको आफ्नै शैली छ । म उहाँको शैलीसँग परिचित छु ।’

पौड्यालका सहकर्मी समालोचक एवं कथाकार थापालाई ‘फेसिङ अ लिटिल भल्क्यानो’ पढ्दा त्यसभित्रको एउटा प्रसंगले निकै आनन्द दिएछ । थापा भन्छन्, ‘मैले यो पुस्तक अन्तिम प्रश्नबाट पढ्न सुरु गरेँ । पढ्दै जाँदा मजा आयो । अनि सुरुबाटै पढ्न थालेँ । पढ्दै जाँदा थाहा भयो, महेशजीले २५ वर्षको उमेरमै ‘डान्सिङ सोल अफ माउण्ट एभरेष्ट’ नामक पुस्तक अनुवाद गर्नुभएको रहेछ । यो पढ्दा आनन्द लाग्यो ।’

अंग्रेजी पढ्ने नेपाली पाठक कति ?

‘नेपालमा अंग्रेजी भाषाका पुस्तक पढ्ने पाठक कम छैनन्’ पौड्याल भन्छन्, ‘तीन दशकदेखि बोर्डिङका उत्पादन आइरहेका छन्, जसले ह्यारी पोटर पढिरहेका छन्, पाउलो कोहेलोका पुस्तक पढिरहेका छन्, चेतन भगतलाई पढिरहेका छन् । अंग्रेजीका पाठक छन् तर हामीले पढ्नयोग्य कुरा दिन सकेका छैनौँ शायद । राम्रो प्रेसबाट छापेर राम्रो कलेवरमा पुस्तक दिन नसक्नु पनि हाम्रो कमजोरी होला ।’

हतारमा निकालिएको हुँदा ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र केही गल्ती भेटिएको र तिनलाई आगामी संस्करणमा सुधार गरिने पौड्यालले बताए । लेखनमा गुणस्तर ल्याउन नसकेकै कारण नेपाली साहित्यिक कृतिहरुको अनुवाद गरेर तिनलाई विश्व साहित्यमा लैजान नसकिएको उनको ठम्याई छ । ‘फेसिङ अ लिटिल भल्क्यानो’ ले युवालाई उत्प्रेरणा दिने दाबी गर्दै पौड्यालले पुस्तक पढ्न युवा पुस्तामाझ आग्रह गरेका छन् ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला