बुङ्बुङ्ती धुलोभित्र यात्रा
निर्माण सामग्री बोकेर सडकमा ओहोरदोहोर गर्ने एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, रोडरोलर र टि्रपरले धुलोको धुनीमा तेल थप्छन् । सवारी चालकदेखि यात्रुसम्म सबैले धुलो र कष्ट सहँदै धुलेबाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो अवस्था आगामी वर्षसम्म कायमै रहने देखिन्छ ।
नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडकमध्ये आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलार्इ चौडा बनाउने काम सुरु गरेपछि मुग्लिनको बाटोमा यात्रा कष्टकर बन्दै गएको हो ।नारायण्ागढहुँदै काठमाडौँ र पोखरा जाने वा त्यताबाट नारायणगढ आउने सबैजसो यात्रुले दिनहुँ सास्ती खेप्नु परिरहेको छ । दिउँसो साढे चार घण्टासम्म यातायात अवरुद्ध हुने हुँदा अहिले धेरैजसोले रात्रिबसमा यात्रा गर्न थालेका छन् । अत्यावश्यक काम पर्नेहरुले हवार्इ सेवा रोज्न थालेका छन् । मुग्लिनको बाटोकै कारण भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको छ ।
विश्व बैंकको सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत संचालित नारायणगढ(मुग्लिन सडक आयोजनाले सडक बिस्तार तथा स्तरोन्नतिको काम सुरु गरेपछि आवागमन असहज बनेको हो । सवारी साधन चलेकै अवस्थामा सडक बिस्तारका लागि पहाड काट्ने र ढुंगा पन्छाउने काम सहज नहुने भन्दै आयोजनाले दिनहुँ बिहान साढे दस बजेदखि दिउँसो तीन बजेसम्म सवारी आवागमन बन्द गराएको छ ।
यसवर्ष चैतसम्ममा सडकको काम सिध्याउने सुरुको लक्ष्य भएपनि भूकम्प र नाकाबन्दीले काममा असर पुगेको भन्दै आयोजनाको म्याद २०७४ भदौसम्म पुर्याइएको छ । आगामी वर्ष्ा भदौसम्ममा पनि काम सकिने छाँट छैन । अहिलेसम्म करिब ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । द्रुत गतिमा काम भएपनि अब एक वर्ष अर्थात २०७४ चैतसम्ममा सडक बिस्तार र पुनर्निर्माणकाे काम सकिने अनुमान छ ।
मुग्लिन सडक मर्मतको काम गतवर्ष वैशाखदेखि सुरु भएपनि भूकम्पले तीन महिना रोकिएर भदौमा केही मात्रामा सुरु भएको थियो ।
चीनहुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायण्ागढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुरहुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । एसियन हाइवे अन्तर्गतको एएचफोरटू खण्ड अन्तर्गत नारायण्ागढ(मुग्लिन सडकखण्ड पर्दछ । आयोजना सम्पन्न भएपछि अहिले कायम रहेको पाँच मिटर चौडा कालोपत्रे सडक सात मिटरको हुनेछ ।
शब्द र तस्बिर : सूर्यप्रकाश कँडेल
Comments
Post a Comment