किताब पढ्नु भनेको तपस्या नै हो : प्रहरी उपरीक्षक प्रकाश मल्ल

 //सूर्यप्रकाश कँडेल//

सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको उनी निमित्त प्रमुख हुन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख छ । उनी अंग्रेजी र नेपाली भाषमा लेखिएका आख्यान र गैरआख्यान पुस्तक पढ्छन् ।


पुस्तक पढ्नुको तीन कारण बताउँदै मल्ल भन्छन्, ‘हामी बसिरहेको समाजलाई बुझ्न, हामी कोबाट शासित छौँ ? यो कति उचित वा अनुचित छ ? भन्ने बुझ्न अनि देशको इतिहास र सभ्यता बुझ्न ।’ मल्लले कलेज पढ्दासम्म थुप्रै आख्यान पढे । तीमध्ये उनलाई मन परेका केही आख्यानमा बसाइँ, मुनामदन, शिरीषको फूल, दोषी चश्मा लगायत छन् । अहिले उनी आख्यानभन्दा गैरआख्यान पुस्तक बढी पढ्छन् । गैरआख्यानतर्फ उनको रुचिका क्षेत्र राजनीति शास्त्र, दर्शन शास्त्र, राजनीतिक इतिहास, वातावरणीय अर्थशास्त्र प्रमुख छन् । सन्दर्भ सामग्रीका रुपमा उनी अंग्रेजी पुस्तक बढी पढ्छन् ।

उनलाई मन परेका गैरआख्यान पुस्तकहरुमा रसियन लेखक पिटर क्रिप्टोकिनको ‘द कन्क्वेष्ट अफ ब्रेड’, ज्यारेड डायमण्डको ‘जेम्स, जम्र्स एण्ड स्टिल’ जेम्स ए. रोबिन्सन र ड्यारोन एक्मोग्लेको ‘वाइ नेसन्स फेल’ लगायत छन् । राजनीतिक अर्थशास्त्रबारे नाओमी क्लेनले लेखेको किताब ‘द सक डक्ट्रिन’ मा पछिल्लो समय समाजमा गरिब किन बढिरहेका छन् ? सम्पत्तिले कसरी शासन गरिरहेको छ ? भन्ने बिस्तृतरुपमा उल्लेख भएको मल्लले बताए । दोस्रो विश्वयुद्धपछि स्यामुअल पि. हन्टिङ्टनले लेखेको पुस्तक ‘द क्लास अफ सिभिलाइजेसन’ मा युद्ध सकियो त ? भनेर लेखकले प्रश्न गरेको मल्ल बताउँछन् । यस पुस्तकमा लेखकले विभिन्न सभ्यताहरुबीच को श्रेष्ठ भन्ने खिचातानीले विश्व झन् ठूलो युद्धको खतरामा छ भन्ने उल्लेख गरेको मल्लले बताए ।

मानव उत्पत्ति र विकासबारे युभल नोह हरारीले लेखेको पुस्तक ‘स्यापियन्स’ पनि उनको मनपर्ने पुस्तकको सूचिमा छ । नोम चोम्स्कीको ‘फेल्ड स्टेट’ पुस्तकमा अमेरिका कसरी असफल राष्ट्र हो ? भनेर अमेरिकाको विदेश नीति लगायतका कुरा प्रस्तुत भएको मल्ल बताउँछन् । राजनीति बुझ्न चाहनेले यो पुस्तक पढ्नु पर्ने उनको सुझाव छ । विश्वको साझा समस्या बनेको वातावरणीय समस्याबारे बुझ्न नाओमी क्लेनले लेखेको किताब ‘दिस चेञ्जेज् एभ्रिथिङ’ उपयुक्त रहेको मल्लको भनाइ छ ।

अंग्रेजी गैरआख्यानमात्र पढ्छन् त मल्ल ? त्यसो होइन । उनले नेपाली गैरआख्यान पनि पढ्छन् । नेपाली गैरआख्यान पुस्तकमा सुजित मैनालीको ‘सती’, युग पाठकको ‘माङ्गेना’, स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’, डा. बाबुराम भट्टराईको ‘अर्थ राजनीतिक विमर्श’ उनलाई मन परेका पुस्तक हुन् । इतिहासतर्फ सरदार भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ र महेशराज पन्तको ‘नेपाली इतिहासको परिवेश’ पनि उनले मन पराएका पुस्तक हुन् । सभ्यताको विकासबारे लेखिएका नेपाली किताबको अभाव उनले महसुस गरेका छन् । अहिले उपलब्ध नेपाली गैरआख्यान पुस्तकमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक विकासक्रमका कुरा पर्याप्त नआएको उनको ठम्याई छ ।

कस्ता किताब पढ्ने ? 

प्रहरी उपरीक्षक मल्ल पाठ्यक्रमबाहेकका पुस्तक विद्यालयमा अध्ययनरत बेलादेखि नै पढ्न सुरु गर्नुपर्ने बताउँछन् । सानो कक्षामा बालसाहित्य र माध्यमिक तहमा पुगेपछि उपन्यास, कथा, कवितालगायतका आख्यान पढ्न उचित हुने उनको भनाइ छ । आफू उमेरको परिपक्वतासँगै गैरआख्यान पुस्तकतर्फ आकर्षित भएको उनले बताए । सबैखाले पुस्तकको आ–आफ्नो विशेषता रहेको बताउँदै उनी भन्छन्, ‘आख्यानले किताब पढ्ने बानीको विकास गर्छ । गैरआख्यानले समाज, देश, इतिहास बुझ्न सघाउँछ । आख्यानले मनलाई छुन्छ । गैरआख्यानमा समाजको विकासक्रम, सभ्यताको विकासक्रम पढ्न पाइन्छ ।’ समाज रुपान्तरणका लागि गैरआख्यान पुस्तकहरु महत्वपूर्ण हुने उनी बताउँछन् ।

कति बेला पढ्ने ?

रुचि अनुसार आख्यान वा गैरआख्यान पुस्तक त पढ्ने, तर कति बेला ? प्रहरी उपरीक्षक मल्ल सुझाउँछन्, ‘पढ्नको लागि समय छुट्याउनु पर्दैन । समय भएको बेला पढ्ने हो । मैले दिनमा ९० मिनेट समय पुस्तकलाई दिन्छु । बिहान ४५ मिनेट र सुत्ने बेलामा ४५ मिनेट पुस्तक पढ्ने गरेको छु । नियमित पढ्ने गरे समय व्यवस्थापन आफै हुन्छ ।’ आफूले औसतमा १० दिन लगाएर एउटा पुस्तक पढ्ने गरेको र महिनामा कम्तीमा ३ वटा पुस्तक पढेर सिध्याउने गरेको उनले बताए । 

विद्यार्थी जीवनदेखि अहिलेको पेशागत जीवनसम्ममा एक हजार हाराहारी पुस्तक आफूले पढिसकेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । आफूसँग अहिले पनि करिब २५ वटा पुस्तक पढ्नै बाँकी रहेको उनले बताए । एउटा व्यक्ति आफू जति वर्षको भयो, कम्तीमा पनि उसले त्यति नै संख्यामा किताब पढ्नै पर्नेमा मल्लको जोड छ । ‘४५ वर्षको व्यक्तिले कम्तीमा ४५ वटा पुस्तक पढेकै हुनुप¥यो’ उनले प्रष्ट्याए ।

किताबको छनौट

कुनै राम्रो लेखकको पुस्तक पढ्दै जाँदा त्यसभित्र सन्दर्भ जोडिएर उल्लेख भएका पुस्तक, सन्दर्भ–सूचीकै रुपमा आएका पुस्तक पढ्न मन लागेर खोजीखोजी पढ्ने गरेको मल्ल बताउँछन् । हालै उनले अष्ट्रेलियाबाट नेपाल फर्कन लागेका उनका मित्रलाई पाँच वटा पुस्तकको सूची पठाए । तीमध्ये दुई वटा आफ्नो हातमा परेको उनले बताए । 

आफूले पढ्न चाहेको क्षेत्रका पुस्तक गुगलबाट सर्च गरेर पनि प्राप्त गर्न सकिने अनुभव उनले सुनाए । साथीहरुको सिफारिसका पुस्तक पनि पढ्न सकिने बताउँदै मल्ल भन्छन्, ‘किताब पढ्नु भनेको तपस्या नै हो । किताब पढ्दा पैसा र समयको लगानी भएको हुन्छ । किताब छनौट गर्दा विचार पु¥याउनु पर्छ । कुनै किताबले गलत दिशानिर्देश पनि गर्छन्, सचेत बन्नुपर्छ ।’

आख्यानको बाढी

नेपालमा आख्यानको बाढी नै आइरहेको मल्ल बताउँछन् । अधिकांश नयाँ लेखकहरुले आख्यानबाटै लेखनयात्रा सुरु गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘आख्यान लेखकको बाढी नै छ नेपालमा । तर किन आख्यानमा नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय पुरस्कार पाउन सकेको छैन ? किनकि बाढीमा नचाहिने कुरा पनि समेटिन्छन् । लेखकको कमी छैन, उत्कृष्ट लेखनको कमी छ नेपालमा । पछिल्लो समय इतिहासलाई जोडेर आख्यान लेख्ने काम भएको छ । योचाहिँ खुसीको कुरा हो ।’ प्रेम र समाजसँग जोडेर बढी आख्यान लेख्ने गरिएको बताउँदै उनले लेखन क्षेत्रको दायरा बढाउनु पर्ने सुझाव दिए । 

गैरआख्यानमा हतार

प्रहरी उपरीक्षक मल्ल गैरआख्यान साहित्य लेखनमा हतार गर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘गैरआख्यान लेख्न हतार गर्नुहुँदैन । ‘सती’ लेख्न सुजितलाई सात वर्ष लागेछ । गैरआख्यान लेख्न अनुसन्धान गर्नुपर्छ, स्रोत, सन्दर्भ र गहिरो ज्ञान आवश्यक पर्छ ।’

नेपाली साहित्य र गैरआख्यान लेखन अन्तर्राष्ट्रियस्तरमा नपुग्नुको मुख्य कारण शिक्षा र चेतनाको कमजोर अवस्था भएको मल्ल बताउँछन् । युरोप र अमेरिकाका लेखकले साहित्यमा नोबेल पुरस्कार पाइसक्दा नेपालमा भने शिक्षाको विकास पनि भएको थिएन । यसो हुनुको प्रमुख कारण विगतमा शासकहरुले शिक्षा क्षेत्रलाई दबाउनु रहेको उनी बताउँछन् । लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल र पञ्चायतकालमा शिक्षालाई दबाउने काम भएको उनको ठम्याई छ । पढ्ने मान्छेको जगेर्ना राज्यले गर्नुपर्ने धारणा राख्छन् उनी ।

पुस्तक उपहार

पठनसँस्कृतिको विकासका लागि पुस्तक उपहार दिने चलन चलाउनु पर्ने मल्लको सुझाव छ । जन्मदिनमा, विवाहमा, वैवाहिक वर्षगाँठमा पुस्तक उपहार दिन सकिने उनी बताउँछन् । राज्यले हरेक वडामा पुस्तकालय निर्माण गर्ने र पुस्तकालयमा आएर सबैभन्दा बढी पुस्तक पढ्नेलाई पुरस्कृत गर्ने पद्धति बसाल्ने हो भने पनि पठनसँस्कृतिको विकास हुने उनको विचार छ ।

‘किशोरकिशोरीलाई पढाईप्रति चासो जगाइदिनु प¥यो’ उनी भन्छन्, ‘विद्यालय, परिवार र साथीभाइले पढाईको महत्व बताइदिनु प¥यो । माध्यमिक विदालय पढ्ने विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका किताब पढ्दा के फाइदा हुन्छ ? भन्ने बुझाउनु प¥यो ।’

पठनसँस्कृतिको विकासका लागि प्रहरी उपरीक्षक मल्लले नेपाल प्रहरी शिक्षालयमा पुस्तकमेलालगायतका कार्यक्रम आयोजना गर्दै आएका छन् ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला