सहर नबुझ्नेहरु मेयर छन् हामीकहाँ : गनेस पौडेल

 –सूर्यप्रकाश कँडेल

पहेँलो ट्राउजर, पहेँलै स्वीटर । स्वीटरमाथि खरानी रङको ओभरकोट । ओभरकोटभित्र गलामा रातो गलबन्दी । तालुबाट आधाआधी कपाल गायब छ । झुस्स दारी, ओँठमा मुस्कान । यही हुलियामा शनिबार बिहान भेटिए ‘अटेरी’ गनेस पौडेल । पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेर चर्चामा रहेका यी ‘अटेरी’ सँग भलाकुसारी गर्ने अवसर मिल्यो सम्पूर्ण किताब नारायणगढमा ।


‘पीत वस्त्र प्रिय वस्त्र । घुम्न रुचाउँछु । राजनीतिक दलमा आवद्धता छैन । सामाजिक अभियन्ता हूँ । लेखक पनि हूँ । खासमा किसान हूँ । फार्म हाउस छ’ कुराकानीको सुरुवात यसरी नै गरे उनले ।

फेसबुकबाट पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेस (उनको नाम गनेस हो, गणेश होइन) ले फेसबुकमै ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ । अटेरी युवा अभियान’ उल्लेखित फोटोलाई कभर फोटो बनाएका छन् । सोधेँ, ‘अटेरी युवा अभियान किन ?’

गम्दै गनेसले भने, ‘नेपालमा राजनीतिक अकर्मण्यता बढेर गयो । नेपालका ठूला राजनीतिक दलहरुले देशका समस्यालाई आफ्नो शक्ति सञ्चयनको माध्यम बनाउँदा रहेछन् । समस्या पनि आफैँले उत्पादन गर्ने अनि त्यही समस्यालाई देखाएर सत्ताको समीकरण तलमाथि पार्ने ।’

तर्क दिँदै उनले थपे, ‘नेपालमा कुनै पनि यस्तो निकाय छैन जसप्रति तपाईंको विश्वास होस् । विश्वासको खडेरी छ । यो सबैभन्दा खतरनाक कुरा हो । यसले हामी कतै असफल राष्ट्रतर्फ उन्मूख भइरहेका त छैनौँ भन्ने आशंका जन्माएको छ ।’

विश्वासको संकटलाई प्रट्याउँदै उनले यस्तो उदाहरण पेश गरे, ‘तपाईं अस्पताल जानुभयो भने डाक्टरले पैसा धेरै खर्च गराइदिन्नन् भन्ने तपाईंलाई विश्वास छैन । एमबीए पास गरेको विद्यार्थीलाई कुनै वित्तीय संस्थामा राम्रो काम गर्न सक्छु भन्ने विश्वास छैन । प्रहरीले समातेर लगेको कुनै व्यक्तिलाई ‘म निर्दोष छु, प्रहरीले छाडिदिन्छ’ भन्ने विश्वास छैन । तपाईंमाथि अदालतमा मुद्दा प¥यो भने पैसा नखुवाई न्याय पाउँछु भन्ने कुरामा तपाईंलाई विश्वास छैन । युनिभर्सिटीको शिक्षकलाई विद्यार्थीमाथि विश्वास छैन, विद्यार्थीलाई शिक्षकमाथि विश्वास छैन । घरभित्रै छोरीहरु यौन दुराचारमा परिरहेका छन्, आफन्तको विश्वास छैन ।’

अविश्वासको शृंखला देखाउँदै गनेस बोलिरहे, ‘राजनीति गर्नेहरुलाई पार्लियामेन्टमाथि विश्वास छैन । त्यही भएर एमसीसी पेश गर्न दिएका छैनन् । सहमतिमा टुंगो लगाउन खोजिरहेका छन् । सांसदमाथि विश्वास भए एमसीसी टेबुल गरेर छोडिदिनु पथ्र्यो त निर्णयका लागि । विश्वासयोग्य कुनै कुरा बाँकी रहेन यो देशमा । धर्ममा विश्वास छैन । समाजमा विश्वास छैन । महानगरले वितरण गरेको पानी धाराबाट सिधै पिउँदा मलाई पखाला लाग्दैन भन्ने तपाईंलाई विश्वास छैन । बजारबाट किनेर ल्याएको तरकारीमा विषादी छैन भन्नेमा कसैलाई विश्वास छैन ।’ 

नेपाली समाजमा यति धेरै अविश्वास जन्मिनुमा राजनीतिलाई दोष दिन्छन् उनी । भन्छन्, ‘नेपालमा राजनीतिले गिजोल्न बाँकी क्षेत्र नेपाली सेनामात्रै रह्यो । जनताको विश्वासको अन्तिम निकायका रुपमा सेनालाई लिइन्छ, त्यसलाई पनि यदाकदा विवादमा ल्याउने काम हुने गरेको छ । कतै हामी बाहिरबाट परिचालित त छैनौँ ? कतै हामीले नेपाललाई असफल राष्ट्रतिर लगिरहेका त छैनौँ ?’ 

एमसीसीको बहानामा अमेरिका र चीनले नेपालमा खेल्न खोजेका हुन् कि भन्ने उनको आशंका छ । यो सबै नेपालको राजनीतिले निम्त्याएको उनको ठम्याई छ । 

चारैतिर विश्वासको संकट देखेका गनेस दार्शनिक पारामा भन्छन्, ‘जब फ्रेडरिक नित्सेले गड इज डेड (भगवान मरिसके) भने तब मानिसले केमा विश्वास गर्ने ? मानवीय चेतनामा एउटा भ्याकुम पैदा भयो । मान्छेले सुपरम्यानको कल्पना ग¥यो । हाम्रोमा पनि के त भन्दा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनापछि राजतन्त्रको केही स्पेस खाली भयो । हिजो हिन्दूराष्ट्र थियो, अहिले धर्मनिरपेक्ष छ । यसो हुँदा हिन्दूवादीले रिक्तता महसुस गरे ।’

आफू गणतन्त्रवादी भएको प्रष्टीकरण दिँदै उनी बोल्दै गए, ‘संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र बेठिक होइन । तर एउटा कालखण्डबाट अर्को कालखण्डमा जाँदा रिक्तता देखियो । त्यो रिक्तता पूर्तिका लागि जनतामा विश्वास देखिएन । तात्विकरुपमा जीवनमा परिवर्तन नआएपछि विश्वास हराउँछ ।’ 

विश्वासको खडेरी व्याख्या गर्दै गनेस भन्छन्, ‘देशैप्रति विश्वास छैन युवालाई । १८ वर्ष पुगेपछि अधिकांश विदेश जान चाहन्छन् । देशमा महँगी नियन्त्रणमा छैन । जनतालाई सामुदायिक शिक्षामा विश्वास रहेन । सरकारी अस्पतालमा पनि राम्रो उपचार पाइन्छ भन्ने विश्वास देखिएन । विद्यमान राजनीतिक दलहरुले यी अविश्वासलाई हटाउन सकेनन् । दलहरुलाई सच्याउनु पर्ने देखियो । नयाँ दल खोलेर जाने अवस्था रहेन । स्वतन्त्र उम्मेदवारीमार्फत् जनतामा रहेको अविश्वास हटाउने प्रयास गर्दैछु । हामी सचेत नागरिकले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दियौँ भने दलहरुलाई दबाव पुग्छ भन्ने लागेर मेयरमा उम्मेदवारी घोषणा गरेँ ।’ अटेरी युवा अभियान नयाँ दल खोल्नका लागि नभएको उनले प्रष्ट पारे ।


त्यसो भए केका लागि त अटेरी युवा अभियान ? गनेस गफिन्छन्, ‘नेपालका दलहरु दलदलमा फँसेका छन् । स्थानीय निर्वाचनमा पार्टीगत होइन, स्वतन्त्र उम्मेदवार धेरै हुनुपर्छ । जनताको आवश्यकता बुझेको नजिकको मानिस उम्मेदवार उठ्नुपर्छ । स्थानीय निर्वाचनलाई दलविहीन बनाऔँ, निर्दलीय बनाऔँ । सहर नबुझ्नेहरु मेयर छन् हामीकहाँ । पोखरीको सहर हो पोखरा । ऐतिहासिक सहर हो काठमाडौँ । आज पोखराबाट पोखरीहरु हराउन थालेका छन् । काठमाडौँको रानीपोखरीलाई झण्डैझण्डै स्वीमिङ पुल बनाउन लागिएको थियो । जनताको विरोधले त्यो काम रोकियो ।’

एउटा हाइपोथेटिकल प्रश्न सोधियो गनेसलाई, ‘तपाईं पोखराको मेयर बन्नुभयो भने केके काम गर्नुहुन्छ ?’ अपेक्षित प्रश्नको अनपेक्षित जवाफ दिँदै उनले भने, ‘म पोखराको मेयर पदमा विजयी भएँ भने दलका मान्छेहरुले २० वर्षमा गर्न नसकेको काम पाँच वर्षभित्र गर्नेछु । मसँग भिजन छ । जनतालाई डेलिभरी दिने रोडम्याप छ । यी सबै कुरा विस्तृत रुपमा चुनावी घोषणापत्रमा राख्नेछु । घोषणापत्रमा राखिएका कुरा घोषणापत्रमै सीमित हुने छैनन् अरुको जस्तो ।’

प्रचार सामग्री र घोषणापत्र समेटिएको पुस्तक निकाल्ने योजनामा छन् गनेस । ‘पोखरामा डेढ लाख घर छन् । एक लाख घरमा मेरो घोषणापत्र पुग्नेछ’ चुनावी रणनीतिको पोको फुकाउँदै उनी भन्छन्, ‘घोषणापत्रको एउटा किताब निकाल्दा ३८ रुपैयाँ खर्च लाग्ने रहेछ । घोषणापत्र छपाई र वितरणमै ४० लाख रुपैयाँ लाग्ने देखियो । कार्यालय सञ्चालन, गाडीभाडा, सभा गर्दा न्यूनतम ६० लाख खर्च आउला । जम्माजम्मी एक करोड रुपैयाँ खर्च आउँदोरहेछ । म किसानको छोराले चुनावमा एक करोड रुपैयाँ खर्च गर्न सक्छु त ? अहँ, सक्दिन ।’

त्यसो भए के गर्दैछन् त उनी ? 

‘म वकल्पिक बाटोबाट जान्छु । ३८ रुपैयाँको घोषणापत्रलाई २० रुपैयाँ लिएर बाँड्छु । अरुले मतका लागि पैसा खर्चिन्छन् । मैले मतदाताबाटै पैसा लिनेछु । प्रति घोषणापत्र १८ रुपैयाँ खर्च म व्यहोर्छु । कोही मतदाता २० रुपैयाँ दिन नसक्ने रहेछन् भने निःशुल्क पनि दिन्छु । विद्यार्थीलाई घोषणापत्रको पिडिएफ बाँड्छु । सामाजिक सञ्जालको भरपुर उपयोग गर्छु । युट्युबमा अन्तर्वार्ता राख्छु ।’

गनेसले यति गर्नका लागि पनि केही रकम त आवश्यक पर्छ नै । त्यसको जोहो कसरी गर्दैछन् त उनी ?

‘सद्भाव समूहबाट सहयोग उठ्नेछ । पाँच हजारदेखि एक लाख रुपैयाँसम्म निःस्वार्थ सहयोग लिनेछु’ अर्थ संकलनको योजना सुनाउँदै उनले भने, ‘व्यापारीसँग पैसा माग्दिन, दिए पनि लिन्नँ । शुभचिन्तक विदेशमा पनि छन् । सबैतिरबाट २० लाख रुपैयाँ जति उठ्ला । चुनावी खर्च २५ लाखमा सीमित गर्छु ।’ चुनावमा लिइने आर्थिक सहायताले भोलि काममा भाँजो नहालोस् भन्नेमा सचेत देखिए उनी ।

राजनीतिलाई ‘फोहोरी खेल’ को उपमा दिइन्छ । के राजनीति साँच्चै नै ‘फोहोरी खेल’ हो ? के राजनीति नकारात्मक कुरा हो ? गनेसले राजनीतिलाई कसरी बुझेका छन् त ? बुझ्न खोजियो ।


‘राजनीति गरेपछि बिग्रिइन्छ भन्ने भाष्य बनाइयो । मिलेमतो, भागबण्डा र भ्रष्टाचार राजनीति होइन । हामीले त्यही मिलेमतो, भागबण्डा र भ्रष्टाचारलाई राजनीति मान्यौँ’ राजनीति बुझाउँदै उनले भने, ‘राजनीतिले देश बिग्रिँदैन । हामीकहाँ राजनीति भएकै छैन । यहाँ त मिलेमतो भएको छ, भागबण्डा भएको छ, भ्रष्टाचार भएको छ । त्यसैले देश बिग्रियो । राजनीति सकारात्मक कुरा हो । नेपालमा नकारात्मक बनाइयो ।’

कति सकारात्मक दृष्टिकोण छ गनेसको । हामीले मानेको राजनीति ‘फोहोरी खेल’ नै हो । तर गनेसले जानेको राजनीति ‘कञ्चन काम’ रहेछ । जनताको सेवामा गरिने ‘कञ्चन काम’ का लागि कम्मर कसेका ‘अटेरी’ गनेस पौडेल पोखराको मेयर बन्न सफल होऊन्, शुभकामना । अटेरी युवा अभियान अन्तर्गत राजधानी काठमाडौँलगायत देशका १५ भन्दा बढी स्थानीय निकायमा उम्मेदवारी घोषणा गरेका सबै ‘अटेरी’ युवालाई पनि जितको शुभकामना ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला