२५ वर्षअघिको त्यो ‘मौन प्रेम’

 – सूर्यप्रकाश कँडेल

अहिले जस्तो समय भए शायद यो जोडी पनि डेटिङ जान्थ्यो होला । पप कर्न हातमा लिएर सिनेमा हलको अँध्यारोमा एकअर्कामा टाँसिन्थ्यो होला । म्यासेन्जरमा रातभर च्याट गथ्र्यो होला । च्याटमात्र किन ? भिडियो च्याट नै गथ्र्यो होला । मोबाइलमा घण्टौँसम्म गफिन्थ्यो होला । तर २५ वर्षअघि यी सबै कुरा अकल्पनीय थिए । ल्याण्डलाइन टेलिफोन सेटसम्म उपलब्ध थियो प्रेमीहरुलाई कुराकानीको भोक मेटाउन त्यतिबेला । त्यही टेलिफोन सेट पनि सबैलाई कहाँ उपलब्ध हुन्थ्यो र ? कसैकसैका घरमा मात्र हुन्थे टेलिफोन सेट अनि हुन्थे केही पसलमा ।


यही टेलिफोनले साथ दियो यो जोडीलाई । यो जोडी अर्थात् नेत्र र बिनिताको जोडी । प्रत्यक्ष भेट हुँदा यी दुवै प्रेमका कुरा गर्दैनथे । कुराकानी त गर्थे तर ती प्रेमिल भावका हुँदैनथे । दिनहुँजसो भेट हुन्थ्यो दुवैको, तर दुवैले एकअर्कालाई प्रेमीप्रमिकाको नजरले हेर्दैनथे । कहिलेकाहीँ त जथाभावी फोहर गरेको विषयमा यिनीहरुबीच चर्काचर्की पनि पथ्र्यो । एउटै छानोमुनि थिए दुवै । बिनिता घरबेटीकी कान्छी छोरी थिइन् । नेत्र थिए डेरामा बस्ने विद्यार्थी । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आइएस्सी पढ्दै गरेका नेत्रले बिनितासहित आठ जना जतिलाई ट्युसन पढाउँथे । 

‘ट्युसन पढाउँदा मनमा प्रेमको भावना नै थिएन’ २५ वर्षअघिको स्मरण गर्दै नेत्र भन्छन्, ‘म बिनिता र उनका साथीहरुलाई विद्यार्थीकै नजरले हेर्थें । २ वर्ष बिनिताको घरमा बिताएपछि म व्यवसायतिर लागेँ । पछि पनि उनको घर जानेआउने हुन्थ्यो । उनका दाजु ध्रुव साथीजस्तै थिए । उनले बोलाउँथे पूजाआजामा । शायद त्यतिबेलै मन पर्न थालिन् कि उनी ?’

बिनिताको भनाइ पनि उस्तै छ । ‘त्यतिबेला म बालकुमारी माध्यमिक विद्यालयमा आठ कक्षातिर पढ्थेँ । उहाँले मलाई र मेरा साथीहरुलाई ट्युसन पढाउनु हुन्थ्यो’ विगत सम्झिँदै बिनिता भन्छिन्, ‘हामी केटीहरु केटाकेटी जस्तै थियौँ । उहाँलाई प्रेमको भावनाले हेरेनौँ कसैले पनि । शायद उहाँको मनमा मप्रति केही भावना थियो कि ?’

बिनिताले आशंका गरे जस्तो आफ्नो मनमा त्यतिबेला प्रेमको भावना नभएको बताउँछन् नेत्र । आइएस्सी पढुन्जेल २ वर्ष बिनिताको घरमा डेरा गरेर बसे नेत्र । त्यतिबेला बिनिताप्रति नेत्रको मनमा प्रेमको भावना नभए पनि त्यसपछिका दिनमा त्यो भावनाले जन्म लिइसकेको थियो । आइएस्सीको पढाइ सकेपछि नेत्रले पूर्वीचितवनको खोलेसिमलमा किराना व्यवसाय सुरु गरे । त्यो व्यवसाय गरेको ६ महिनामा रिजल्ट आयो । उनले आइएस्सी उत्तीर्ण गरे । अब बिएस्सी पढ्नु पर्छ भन्ने सोच लिएर उनले खोलेसिमलको किराना पसल बेचिदिए । नारायणगढमा खानीखोले हार्डवेयरसँगै २०५० साल वैशाखमा किराना व्यवसाय सुरु गरे । आफूसँगै पढ्ने साथी युवराज गुरुङसँग साझेदारीमा व्यवसाय सुरु गरेका नेत्रले पछि पसल एकलरुपमा चलाउनु प¥यो । बेल्जियमको भिसा लागेपछि युवराजले साथ छाडे । यही किराना पसलले नेत्रको मौन प्रेमलाई मौन रहन दिएन । पसलमा रहेको ल्याण्डलाइन टेलिफोनले नेत्रलाई बिनितासामु उनको मनको कुरा भन्न बाध्य बनायो ।

हिम्मत जुटाएर एकदिन नेत्रले बिनितालाई फोन गरे । बिनिताको घरमै थियो टेलिफोन । टेलिफोनमा गफ त फुर्सदका बेला गरिरहेकै हुन्थे नेत्रले बिनितासँग । त्यसदिन भने उनले बिनितासँग कुराकानीकै क्रममा प्रेमको प्रस्ताव राखे । सत्रवर्षे बिनिताले ‘ओके’ गरिन् । त्यसपछि के भयो ? हो, बिहे भयो उनीहरुको । तर त्यति सजिलै भने होइन । कारण के भने नेत्रको घर थियो माडीको तत्कालीन बरुवा गाउँ विकास समितिस्थित शीतलपुर गाउँमा । बिनिताको परिवार बस्थ्यो भरतपुर, वैदिकनगरमा । त्यसमाथि बिनिताका बुबा दामोदर पौडेल अदालतको सुब्बा थिए ।

‘माडीमा सुनै फल्ने भए पनि छोरी दिन्नँ भन्नुहुन्थ्यो बुबाले’ बिनिता बताउँछिन्, ‘माडी अलि दुर्गम भनेर मेरो घरपरिवार सकारात्मक थिएन । आमाको साथ पाएर नै मैले आफ्नो प्रेमलाई विवाहमा परिणत गराउन सफल भएँ ।’ 

दुःखको कुरा, बिनिताको बिहेअघि नै २०५२ साल असार १५ गते उनका बुबाले संसार छाडे । त्यही वर्ष घरमा बिहेको प्रस्ताव लिएर उनलाई माग्न आउने क्रम सुरु भयो । 

बुबा बितेको एक वर्षसम्म शुभकार्य गर्न नहुने धार्मिक मान्यताको कारण बिहेको कुरा थाँती रह्यो । तर एकदिन बिनिताकी आमा चन्द्रकुमारी पौडेलले छोरीसँग खुसुक्क बिहेका लागि प्रस्तावहरु आएको कुरा खोलिन् । ‘मैले बिहे गर्दिन भनेँ’ बिनिता भन्छिन्, ‘ममीले किन भनेर सोध्नुभयो । म चुप बसेँ । ममीले त्यही नेत्र बाबुसँग बिहे गर्ने हो ? भनेपछि मैले हो भनिदिएँ ।’

बिनिताले आफ्नी आमासँग कुरो स्पष्ट पारे पनि घरमा अनुकूल वातावरण अझै थिएन । चन्द्रकुमारीले आफ्नी बहिनीमार्फत् छोरासामु कुरो पु¥याएपछि बिनिता र नेत्रको जोडीले लगनगाँठो कस्यो २०५३ साल वैशाख १० गते । आँगन पोलेर छोरी दिन बिनिताका बुबाको निधन भएको एक वर्ष नपुगेको हुँदा घर नजिकैको गणेश मन्दिरबाट बिहे सम्पन्न भयो ।

बिनितासँग बिहेका लागि नेत्रले घरमा बुबाआमासँग कुरा राखे । तीन जना बहिनी र एक जना भाइका दाजु नेत्रले आफ्नो बिहेको कुरा निकालेपछि उनको परिवार सकारात्मक देखियो । बिनिताको घरमा उनको हात माग्न नेत्रका हजुरबुबा आफै आए । कुरो छिनेपछि बिहे सम्भव भयो । सुखद् संयोग, २०४७ साल वैशाख १० गते बिनिताको घरमा डेरा जमाउन पुगेका नेत्रको जीवनमा त्यसको ठ्याक्कै ६ वर्षमा बिनिताले आजीवन डेरा जमाइन् ।

वैशाखमा बिहे भयो । त्यही वर्ष माघ २३ गते बिनिता र नेत्रको पहिलो सन्तानका रुपमा छोरा सिजनको जन्म भयो । त्यसको अढाई वर्षपछि २०५६ साल भदौमा छोरी सिमरनको जन्म भएपछि आचार्य परिवारले पूर्णता पायो । नेत्रको पुरानो डेरा ससुरालीमा फेरियो । साथी जस्तै ध्रुव नाताले जेठान भए । बिनिता सानै छँदा बिहे भएको थियो उनकी दिदी गोमा न्यौपानेको । अहिले बिनिताकी आमा र भिनाजु पनि स्वर्गवासी भइसकेका छन् ।

बिनिता र नेत्र छोराछोरीसहित अहिले नारायणगढको बालकुमारी रोडस्थित आफ्नै निवासमा बस्छन् । खाद्यान्न सप्लायर्सको व्यवसाय अहिले नारायणगढबाट भरतपुर, त्रिचोकमा सरेको छ । मौन प्रेमलाई विवाहमा परिणत गर्न सफल आचार्य दम्पतीले व्यावसायिक सफलता पनि प्राप्त गरिरहेको छ ।

नेत्रको माडीस्थित घरमा उनका बुबाआमा र भाइको परिवार बस्छ । बिहेपछि बिनिताले त्यो घरमा पहिलो रात बिताइन् । बिहेको भोलिपल्ट दुरान फर्काउन बिनितालाई लिएर नेत्र भरतपुर आए ससुरालीमा । एक रात ससुरालीमा बिताएपछि यतै अड्डा जमाए दुवैले । हरेक वर्ष दशैँ र पूजाआजामा नेत्र सपरिवार माडी पुग्छन् । उनीहरुको दाम्पत्य जीवन हाँसीखुसी अगाडि बढेको छ । मौन प्रेमले जुराएको यो जोडीको प्रेमकथा भने अब मौन रहेन ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला