ट्राफिक नियम हाम्रै सुरक्षाको लागि

- सूर्यप्रकाश कँडेल

सडकमा ट्राफिक नबस्ने हो भने इमानदार भएर ट्राफिक नियम पालना गर्ने कति होलान् ? चोकचोकमा ट्राफिक देख्दा पनि सवारीचालकहरु ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् । मोटरसाइकलमा तीन जना सवार हुनु, माइक्रोबस, म्याजिक, मिनीबस र ठूला बसमा सिट क्षमताभन्दा बढी यात्रु ओसार्नु सधैँजसो देखिने ट्राफिक नियम उल्लंघनका घटना हुन् । युवा उमेरका मोटरसाइकल चालकले त सवारीमा केही परिवर्तन (मोडिफाई) गरेर चलाउने गरेको समेत पाइन्छ । सडकमा लेन अनुशासन पालना नगर्नु, मदिरा पिएर सवारी चलाउनु, धेरै भार बोकेर मालसामान ओसारपसार गर्नु, तीब्र गतिमा सवारी हाँक्नु पनि ट्राफिक नियमको उल्लंघन नै हो । सडक छेउमा जथाभावी पार्किङ गर्ने समस्या पुरानै हो । अझ नो पार्किङमा समेत सवारी पार्किङ भएको देख्न पाइन्छ । यी सबै कुरालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले नियम पालना गराउँछन् । केही सवारी चालक भने ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् ।


साना हुन् वा ठूला सबैखाले सवारी चलाउनेले ट्राफिक नियम पालना नगर्ने हो भने सडक दुर्घटनाको संख्या घट्न सक्दैन । सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नु भनेको सवारीचालक र उसँगै यात्रा गर्ने अरुको जीवन जोखिममा नपार्नु हो । सबै सवारीचालकले ट्राफिक नियम हाम्रै लागि हो भन्ने सोचेर यसको पालना गर्ने हो भने धेरै दुर्घटना हुन पाउँदैन । सवारीचालकहरुलाई ट्राफिक नियम पालना गराउने प्रयासस्वरुप बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले चैत १ गतेदेखि लागु हुने गरी चितवन, मकवानपुर, धादिङलगायत १० जिल्लामा ट्राफिक नियम उल्लंघन गर्नेलाई अनिवार्यरुपमा ट्राफिक प्रशिक्षण लिनु पर्ने व्यवस्था गरेको छ । ट्राफिक प्रहरीको यो प्रयास स्वागतयोग्य छ । हामीले आफूलाई देशको योग्य नागरिकका रुपमा परिचित गराउन ट्राफिक नियमको पालना गर्नु पर्छ । ट्राफिक नियमको पालना गर्दा फाइदा हामी सवारीचालकलाई नै छ ।

खासगरी मदिरा सेवन गरी सवारीसाधन चलाउने, तीब्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने र लेन अनुशासन उल्लघंन गर्ने, पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, जथाभावी बाटो काट्ने, जेब्राक्रसनजिक सवारीसाधनको गति कम नगर्ने समस्या देखिएको छ । सवारी चालक अनुमतिपत्र नभएकाहरुले पनि सवारी चलाउने, मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरुप परिवर्तन गरी चर्को आवाजमा सवारी चलाउने समस्या पनि छ । यी सबैखाले समस्या खडा गर्ने सवारीचालकलाई अनिवार्यरुपमा ट्राफिक कक्षा लिनु पर्ने व्यवस्था गरिएको हो । ट्राफिक चेकिङबाट दोषी देखिएका सवारीचालकलाई सवारीसाधनसम्बन्धी कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनु पर्ने व्यवस्थाले यस्ता समस्यामा कमि आउने विश्वास गर्न सकिन्छ । यस्तो प्रशिक्षणमा ओभरटेक गर्ने तरिका, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुरा, लेन अनुशासन पालना, सडक अनुसार सवारीको गति, पार्किङ क्षेत्रबारे प्रशिक्षण दिनु राम्रो पक्ष हो । ट्राफिक नियम हाम्रै सुरक्षाको लागि भएकोले हो भन्ने बोध गरी सबै सवारीचालकले ट्राफिक नियमको पालना गर्ने हो भने निश्चय नै सवारी दुर्घटना कम गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला