बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’

– सूर्यप्रकाश कँडेल
चितवन । लुतो आयो भने छालामा औषधि लगाइन्छ, हड्डीमा लुतो आउँछ कि आउँदैन होला ? जिउ (मांसपेशी) दुख्यो भने मालिस गरिन्छ, कहिलेकाहीँ हड्डीलाई दुख्छ कि दुख्दैन होला ? मासुभित्र लुकेर बस्ने हड्डीमा समस्या परेको थाहा पाउन त्यो हड्डी भाँचिनु पर्छ, नत्र कसैले वास्तै गर्दैन । अब भने यस्तो लापरबाही नगर्नुहोला ।
बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’ भयो भने ढाड कुप्रो पर्नेमात्र होइन, कापको जोर्नी भाँचिन पनि सक्छ । जसले जीवनभर अपाङ्तामा बाँच्न विवश पारिदिन्छ । हड्डी कमजोर भएर भाँचिएपछि मात्रै पहिलो लक्षण देखा पर्ने भएकोले चिकित्सकहरु अस्टियोपोरोसिसलाई ‘मौन हत्यारा’ (साइलेन्ट किलर) पनि भन्छन् ।

न्यूक्लियर मेडिसिनमा एमडी (डक्टर अफ मेडिसिन) डिग्री हासिल गरेका डा. मधु न्यौपाने मानिसको शरीरमा रहेका हड्डी उमेर बढेसँगै क्रमशः कमजोर हुँदै जाने बताउँछन् । ‘मानिसको हड्डी ३० वर्षको उमेरसम्म सबैभन्दा बलियो हुन्छ’ डा. न्यौपाने भन्छन्, ‘३० वर्षपछि बिस्तारै हड्डी कमजोर हुँदै जान्छ । अस्टियोपोरोसिस हड्डीको घनत्व घट्दै जाने, हड्डी मक्किने र कमजोर हुने रोग हो ।’
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत डा. न्यौपानेका अनुसार स्वस्थ्य हड्डीमा सामान्य चोट सहन सक्ने क्षमता हुन्छ भने ओस्टियोपोरोसिस भएको हड्डी सामान्य चोटपटक लाग्दा पनि भाँचिने खतरा रहन्छ । ओस्टियोपोरोसिसको कारण मेरुदण्डको हड्डी, नाडीको जोर्नी र काछको जोर्नी भाँचिने गरेको पाइएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार वार्षिक ९० लाख मानिसहरु ओस्टियोपोरोसिसको कारण हड्डी भाँचिएर समस्यामा पर्ने गरेका छन् । विश्वका २० करोडभन्दा धेरै मानिस ओस्टियोपोरोसिस रोग बोकेर बाँचिरहेको अनुमान छ । हड्डी धोद्रो पार्ने यो रोगले ५० वर्ष माथिका महिला र ६० वर्ष माथिका पुरुषलाई सताउने डा. न्यौपानेको भनाइ छ ।
महिनावारी बन्द भएका महिला बढी जोखिममा
ओस्टियोपोरोसिसको सबैभन्दा बढी जोखिम महिनावारी बन्द भएका महिलाहरुमा हुन्छ । कम उमेरमा महिनावारी बन्द हुने, हर्मोनको समस्या तथा पाठेघरको शल्यक्रिया गरिसकेका महिलामा झन् बढी जोखिम हुन्छ । पहिचान भएकामध्ये ७५ प्रतिशत (तीनचौथाई) हाराहारी महिला पाइएको डा. न्यौपाने बताउँछन् । उनका अनुसार शारीरिक गतिविधि तथा व्यायामको कमी, खानेकुरामा खनिज तत्व तथा क्याल्सियमको कमी र कुपोषणको कारणले पनि अस्टियोपोरोसिस हुन सक्ने सम्भावना बढ्छ ।
महिनावारी गडबडी हुने महिला, सेक्स हर्मोनको कमी भएका महिला र पुरुष दुवैमा ओस्टियोपोरोसिस हुने जोखिम हुन्छ । मानसिक तथा छारे, पेट तथा आन्द्रा र कलेजो तथा मिर्गौला सम्बन्धी रोग लागेका वा शल्यक्रिया गरेका बिरामी पनि जोखिममा हुन्छन् । यसबाहेक क्यान्सर, बाथ, मधुमेह, थाइराइड रोगको औषधि सेवन गरिरहेका बिरामीलाई पनि उमेर घर्किंदै गएपछि बुढेसकालमा अस्टियोपोरोसिसले सताउन सक्ने डा. न्यौपाने बताउँछन् । भिटामिन डीको कमी भएका र अत्याधिक धूमपान तथा मद्यपान गर्ने मानिस पनि यो रोगको जोखिममा पर्छन् ।
यसरी पत्ता लगाइन्छ ओस्टियोपोरोसिस
ओस्टियोपोरोसिसको लक्षण देखा पर्ने बेलासम्म हड्डी धेरै कमजोर भइसकेको हुन्छ । पहिलेपहिले हड्डी भाँचिएपछि मात्र ओस्टियोपोरोसिसको शंका गरिन्थ्यो तर अहिले हड्डीको घनत्व जाँच गर्न सक्ने अत्याधुनिक उपकरण काठमाडौँ र चितवनमा उपलब्ध छन् । यस्तो प्रविधिलाई बोन मिनरल डेन्सिटी स्क्यानर वा डेक्सा स्क्यान भनिन्छ ।
सिटी स्क्यान वा एमआरआई जस्तै बिरामी सुत्ने टेबुल भएको डेक्सा स्क्यान मेसिनमा बिरामीलाई सुताएर आधा घण्टाभित्र हड्डीमा रहेको मिनरलको घनत्व पत्ता लगाइन्छ । यो घनत्वलाई टी स्कोरमा मापन गरिन्छ, जसबाट ओस्टियोपोरोसिस भए वा नभएको पत्ता लाग्छ ।
माइनस एक (–१) वा त्योभन्दा बढी टी स्कोरलाई सामान्य (नर्मल) मानिन्छ । यसलाई हरियो रंगले संकेत गरिन्छ । माइनस एकदेखि माइनस दुई दशमलव पाँचसम्मको टी स्कोरलाई ओस्टियोपेनिया भनिन्छ, जसलाई पहेँलो रंगले संकेत गरिन्छ । टी स्कोर माइनस दुई दशमलव पाँच वा त्योभन्दा कम भएको अवस्थालाई ओस्टोयोपोरोसिस मानिन्छ । यसलाई रातो रंगमा संकेत गरिन्छ ।
उपचार तथा रोकथाम
हड्डीको घनत्व ह्रास हुने रोग ओस्टियोपोरोसिसलाई पूर्णरुपमा निको पार्ने औषधि छैन । बुढेसकालमा हड्डीमा धमिरा लागेपछि त्यसको क्षतिपूर्ति हुन सक्दैन । त्यसैले हड्डी कमजोर हुनुभन्दा पहिले नै त्यसको अवस्था जानी राख्नु पर्छ । ओस्टियोपोरोसिस भएको अवस्थामा वा हुनै लाग्दाको अवस्था (ओस्टियोपेनिया) मा क्याल्सियम तथा अन्य औषधिबाट उपचार हुन्छ ।
डा. मधु न्यौपानेका अनुसार ओस्टियोपोरोसिस हुन नदिन वा भइसकेपछि रोकथामका लागि धूमपान र मद्यपानबाट टाढा बस्नु पर्छ । क्याल्सियम तथा खनिजयुक्त खानेकुरा सन्तुलित मात्रामा खानु पर्छ । महिनावारी बन्द भएका महिलाले डेक्सा स्क्यान गरी हड्डीको अवस्थाबारे जानकारी लिएर आवश्यक परेमा चिकित्सकको सल्लाह बमोजिम हर्मोनको सेवन गर्नु पर्छ । वृद्धावस्थामा गह्रुँगो बस्तु बोक्ने वा उठाउने गर्नु हुँदैन । (सफल खबर डट कमबाट)

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला