गोडा गुम्यो, गैँडा नगुमोस्

नवलपरासीको एउटा सुन्दर गाउँ अमलटारी । चार वर्षयता यो गाउँ होमस्टेका लागि प्रख्यात छ । यहाँ सामुहिकरुपमा सञ्चालित अमलटारी मध्यवर्ती होमस्टे अन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो । २९ वर्षअघि खेतमा धान खान आएको गैँडा धपाउने क्रममा गैँडाको आक्रमणबाट आफ्नो दाहिने गोडा गुमाएका महतो भन्छन्, मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैँडा नगुमोस् ।
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन् । गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान सुरक्षित बनेको छ । होमस्टेमा बास बस्न आउने पर्यटकले जीप सफारीमा एकैदिन दर्जन गैँडा देखेका छन् ।
संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैँडा जोगाउनु पर्छ भन्ने चेतना जागृत भएको छ । त्यसैले त तीस वर्षको युवा उमेरमा धानखेतमा गैँडाको आक्रमणमा परेपछि बैशाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, ‘हाम्रो पाहुनालाई देखाउन गैँडा जोगाउनु पर्छ । गैँडा र अरु जनावर जोगाउन जंगलको संरक्षण गर्नुपर्छ । मलाई हान्ने गैँडा कता पुगिसक्यो ।
त्यसमाथिको रिस अरु निर्दोष गैँडामाथि किन पोख्ने ? मैले गैँडा लखेट्न नगएको भए मलाई गैँडाले हान्ने नै थिएन । गल्ती मेरै थियो ।’
२०४५ साल साउन अन्तिम साताको कुनै एक दिन । साँझदेखि झरी परिरहेको थियो । गाउँलेहरु खाना आएर घरको काम भ्याई सुत्ने तर्खरमा थिए । राति नौ बजेतिर घर अगाडिको खेतमा भर्खरै पाँजो हालेको कलिलो धान खान गैँडा आइपुग्यो । टाढैबाट हाहाहुहु गर्दा गैँडा नभागेपछि त्यसलाई धपाउन गाउँका नौ जना युवा हातमा राँको र लौरो लिएर खेतमा पसे । ती युवामध्ये एक थिए महतो । घटना सम्झँदै उनी भन्छन्, ‘सिमसिम पानी परिरहेको थियो । गैँडा धपाएर हामी फर्कंदै थियौँ । हामी फर्केपछि गैँडा पनि हामीलाई लखेट्न यतै फर्किएछ । म फनक्क पछाडि फर्किएर लौरोले गैँडालाई तर्साउँदै पछिपछि सरेँ । पछि हट्ने क्रममा खेतको आलीमा ठोक्किएर म लडेँ । गैँडाले टाउको निहु¥याएर खागले मेरो दाहिने गोडाको पिँडुलामा हानेर मलाई घाइते बनायो । एकपटकमात्रै हानेर गैँडा भाग्यो । पिँडुलाको हड्डी भाँचिएर बाहिरै निस्केको थियो ।’
घाइते महतोलाई उनका साथीहरुले थारु लजको गाडामा राखेर गाउँ नजिकको डण्डा बजार पु¥याए राति नै । डण्डा बजारबाट गाडीमा राखेर उनलाई भरतपुर अस्पताल पु¥याइयो उपचारका लागि । गाउँमा रहेको थारु लज महतोले काम गर्ने टाइगर टप्स जंगल लजको शाखा हो । वर्षामा पर्यटक नहुने भएकोले कामदारलाई छुट्टी दिइन्थ्यो । छुट्टीमा घर आएका महतो गैँडाको आक्रमणमा परेका थिए ।


‘तीन दिन अस्पताल बसेँ भर्ना भएर । अस्पताल पु¥याएको भोलिपल्ट अप्रेसन गरेर खुट्टामा प्लास्टर गरिदिए । प्लास्टर गरेको खुट्टा सुन्निएर दुख्न थाल्यो’ महतोले अस्पतालको बसाई सम्झँदै भने, ‘तीन दिनपछि खुट्टा काट्नै पर्छ भने डाक्टरले । भरतपुरका डाक्टरको भर नलागेर काठमाडौँ गई टिचिङ हस्पिटलमा भर्ना भएर अप्रेसन गरी तिघ्रादेखि खुट्टा काटियो ।’
दुर्घटनामा परेर खुट्टा काट्नु परेपनि महतोको हिम्मत र साहस काटिएको थिएन । उनी पुनः काममा फर्किए टाइगर टप्सको भान्सामा । मिठो खाना पकाउने सीप भएका महतोले जागिरबाट अवकाश पाएपछि अहिले आफ्नै होमस्टेमा आउने पाहुनालाई त्यही मिठो स्वाद पस्कन्छन् । टाइगर टप्सले उपलब्ध गराएको कृत्रिम खुट्टा विशेष अवसरमा मात्र लगाउँछन् महतोले ।
तीन लाख रुपैयाँ खर्चेर दुईदुई शैयाका दुई वटा कोठाको एउटा पाहुना घर बनाएका महतोले यो खर्च पहिलो वर्ष नै उठाए । गाउँमा पर्यटक आउने क्रम दुई वर्षअघि भूकम्प गएको वर्ष भने ठप्पै रोकियो । गतवर्षदेखि पुनः होमस्टेमा पर्यटकको चहलपहल बढ्यो । अहिले उनी खर्च कटाएर वर्षको सवा लाख रुपैयाँ बचत गर्छन् । होमस्टेसँगै एउटा भैँसी पालेर दूध बेच्ने गरेका छन् उनले । कुखुरा र हाँस पनि पालेका छन् ।

सबै काममा आफू नै अघि सर्ने महतोलाई उनकी श्रीमती मीनाले सघाउँछिन् ।
चार छोरा र दुई छोरीका बाबु महतो छ नातिनातिनाका हजुरबा भइसके । सहिँलो छोरा छनुरामबाहेक सबै प्रहरी सेवामा छन् । छनुराम गाउँनजिक बाघखोरमा रहेको दुर्गाभवानी माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन् । साहिँली बुहारीले महतोकै आडमा होमस्टे सञ्चालन गर्छिन् ।
जीवनमा अविष्मरणीय दुःख दिने गैँडा अहिले महतोको आयआर्जनको मुख्य कारण बनेको छ ।
उनले गोडा गुम्यो, गैँडा नगुमोस् भन्नुको कारण पनि यही नै हो ।

शब्द र तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

उड्यो मयुर

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा