खाग जलेर खरानी

दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा यसको खागका लागि चोरीशिकारको निशानामा पर्न छाडेको छैन । दक्षिण एसियामा नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैँडाको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा जेठ ८ गते गैँडाको तीन सय ५७ वटा खाग जलाएर नष्ट गरिएको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने भन्ने निर्णय गरे अनुसार गैँडाको खाग, छाला, बाघको छाला, हड्डी लगायतका आखेटोपहार जलाएर नष्ट गरिएको हो ।
 आखेटोपहार जलाउन इँट, माटो, फलामको डण्डी र पाता प्रयोग गरी भट्टी निर्माण गरिएको थियो । कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला सल्काएर नष्ट गरिएको छ । आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैँडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ वटा, चितुवाको छाला चार सय १८ वटा, ध्वाँसेचितुवाको छाला दुई वटा, हिउँचितुवाको छाला एक वटा, कस्तुरीको बीना ३४ वटा, हाब्रेको छाला ४७ वटा, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरको रौँ तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, जरायोका सिङ, गैँडाको छाला, बाघको खप्पर, हड्डी लगायत छन् ।
देशभरबाट संकलन भएकामध्ये चितवनको टिकौलीमा रहेको सशस्त्र वनरक्षक तालिम केन्द्रमा भण्डारण गरिएका एक हजार सात सय ३९ वटा र चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा भण्डारण गरिएका चार हजार १२ वटा आखेटोपहार जलाएर नष्ट गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । यसअघि २०५४ साल चैतमा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । प्राकृतिक अवस्थामा कालगतिले मरेका र चोरीशिकारबाट मारिएका दुर्लभ वन्यजन्तुको आखेटोपहार टिकौली र कसरामा भण्डारण गरी सुरक्षासहित राखिएका थिए ।
वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्न व्यक्तिबाट हुने ओसारपसारका क्रममा पक्राउ परेका व्यक्तिबाट जफत आखेटोपहार समेत मुद्दाको किनारा लागेपछि त्यहाँ राखिएका थिए । निकुञ्ज तथा संरक्षण क्षेत्रमा भेटिएका आखेटोपहार कसरामा र वन क्षेत्रमा भेटिएका आखेटोपहार टिकौलीमा भण्डारण गरिँदै आएको थियो । देशभरबाट २० वर्षयता जम्मा भएका आखेटोपहारमध्ये केही भने अध्ययन, अनुसन्धान र प्रदर्शनीका लागि कसरामा सुरक्षित राखिएको छ । यसरी सुरक्षित राखिएका आखेटोपहारमा गैँडाको खाग १० वटा, बाघको छाला पाँच वटा, कस्तुरीको बीना चार वटा, हाब्रेको छाला दुई वटा, चितुवाको छाला एउटा, चिरुको ऊन एक पोका र हात्तीको दाह्रा ११ क्वीण्टल रहेका छन् । हात्तीको दाह्रा नौ सय डिग्री सेण्टीग्रेड तापक्रममा धेरै घण्टासम्म पोलेपछि बल्ल नष्ट हुने भएकोले अहिले नष्ट गर्न नसकिएको महानिर्देशक खड्का बताउँछन् ।
‘जलाइएका आखेटोपहारमध्ये केही बाहिरी देशबाट तस्करी भएर नेपालहुँदै अन्यत्र लैजान लागेको अवस्थामा देशको भूमिमा जफत गरिएका पनि छन्’ महानिर्देशक खड्का भन्छन्, ‘केही वर्षअघि तस्करबाट जफत भएको थियो । समुद्री घोडाको छाला र केही अंगलाई जलाइएको छ । नेपालमा समुद्री घोडा नभएकोले वन्यजन्तुको अंगको व्यापार गर्ने अन्तर्राष्ट्रिय तस्करको जालो नेपालसम्म फैलिएको पाइन्छ ।’ मरिसकेका वन्यजन्तुको अंगलाई महत्व दिएर राखिरहनुको कुनै अर्थ नभएकोले तिनलाई जलाइएको उनको भनाइ छ । ‘गैँडाको खाग जिउँदो गैँडाको शरीरमा रहँदा नै त्यसको महत्व हुन्छ’ उनी भन्छन्, ‘मरेको गैँडाको खागलाई महत्व दिनु आवश्यक छैन ।’
दुर्लभ वन्यजन्तुका विभिन्न अंग, हाडखोर र छालालाई आगोमा डढाएर नष्ट गर्नुको मुख्य उद्देश्य यस्ता सामग्री प्रयोगविहीन हुन् र यिनको कुनै मूल्य छैन भन्ने सन्देश दिनु रहेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउँछन् । जैविक विविधता संरक्षण दिवस पारेर आखेटोपहारलाई जलाउने कामको सुरुवात परराष्ट्रमन्त्री प्रकाशशरण महतले गरेका थिए । संरक्षणका लागि आगो लेखिएको स्ट्याण्डमा राखिएको मसाल सल्काएर मन्त्री महतले आखेटोपहारको चाङमा आगो लगाएका थिए । मन्त्री महतले जलाइएका आखेटोपहारको अन्तर्राष्ट्रिय बजार मूल्य अर्बौं रुपैयाँ भएपनि सरकारले यसलाई मूल्यहीन ठानेर जलाउने निर्णय गरेको बताउँछन् । ‘वन्यजन्तुहरु प्रकृतिमै जन्मन्छन्, हुर्कन्छन् र उनीहरु यही प्रकृतिमा विलिन हुन पाउनु पर्छ । वन्यजन्तुका आखेटोपहार घरको शोभा बढाउने सामग्री बन्न दिनेछैनौँ’ संरक्षणमा सरकार प्रतिवद्ध रहेको बताउँदै महत भन्छन्, ‘संरक्षणमा नेपाली सेना र स्थानीय जनताले सरकारलाई सक्रियतापूर्ण साथ दिएका छन् ।’
आखेटोपहार नष्ट गरेको अवलोकन गर्न संरक्षणमा संलग्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि कसरामा जम्मा भएका थिए । वनमन्त्री शंकर भण्डारीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत एलिना बी टेप्लिजले बाघ र गैँडाको संरक्षणमा अमेरिकाले नेपालसँग सहकार्य गर्दै आएको बताइन् । ‘आखेटोपहार नष्ट गरेर नेपालले वन्यजन्तुका अंगको सुन्दरता जीवित वन्यजन्तुको शरीरमामात्र हुने सन्देश विश्वलाई दिएको छ’ उनले भनिन्, ‘यो कार्यले वन्यजन्तुका अंग मूल्यहीन वस्तु हुन् भन्ने सन्देश पनि विश्वसामु पुगेको छ ।’ वन्यजन्तुको अवैध कारोबार विश्वव्यापी समस्या भएको र यसको रोकथामको लागि सीमा सुरक्षालाई बलियो बनाउनु पर्ने उनको सुझाव थियो ।

शब्द तथा तस्बिर ः सूर्यप्रकाश कँडेल

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला