प्रवासको छटपटीले जन्माएको ‘अमेरिका अनुभूति’


– सूर्यप्रकाश कँडेल –

अमेरिका अर्थात् स्वप्नभूमि । अमेरिका अर्थात् अवसरको भूमि । अमेरिका अर्थात् कर्मलाई फलदायी बनाउने भूमि । जति नै प्रशंसा गरे पनि कम हुन्छ अमेरिकाको बारेमा । आकर्षणको चुलीमा रहेको यही भूमिमा दुई दशकभन्दा बढी समय बिताए सुभाष घिमिरेले । अमेरिकामा सुखमात्र नभई दुःखको समेत साक्षात्कार गरेका घिमिरेले प्रवासको छटपटीलाई समेटेर बेलाबखतमा लेखिएका अनुभूतिलाई पुस्तकको रुप दिए । घिमिरेले प्रवासको छटपटी समेटेर तयार पारिएको पुस्तक हो, अमेरिका अनुभूति । 

चितवनको पश्चिम रामपुरमा २०२९ साल पुस २४ गते जन्मिएका घिमिरे आमा रमा र बुबा रामकृष्णका जेठो सन्तान हुन् । उनी एक भाइ र एक बहिनीका दाजु हुन् । दुर्गा निमावि (हाल मावि) विजयनगरबाट ६ कक्षासम्मको पढाई पूरा गरेपछि उनले रामपुर माविमा पढे । २०४४ सालमा रामपुर माविबाट एसएलसी पास गरेका घिमिरेले रामपुर कृषि क्याम्पसबाट २०५१ सालमा बिएस्सीएजी उत्तीर्ण गरे । त्यसपछि एक वर्ष लहान प्राविधिक शिक्षालयमा कृषि विषय पढाए ।

२०५४ सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कृषि प्रसार अधिकृतमा नाम निकालेपछि बबरमहलमा एकहप्ते तालिम लिए । तालिमपछि नियुक्तिपत्र पाए । कैलालीको लागि दरबन्दी पाएका घिमिरे त्यता नगई अमेरिका हानिए । उनले अमेरिकी भूमि टेकेको २५ वर्ष भयो, तर पटकपटक गरी ५ वर्ष जति उनले नेपालमा बिताएका छन् । 

अधिकृत भई कैलाली पुग्नु पर्ने उनी कसरी अमेरिका पुगे त ? घिमिरे भन्छन्, ‘त्यतिबेला रामपुरमा बिएस्सीपछिको पढाई सम्भव थिएन । पढ्न कतै जानु पर्ने भयो । काठमाडौँ आएर लोकसेवाको तयारीसँगै अमेरिकाको लागि प्रकृया सुरु गरेँ । निजामति सेवामा प्रवेश पाउनु र अमेरिकाको लागि भिसा लाग्नु एकैपटक भयो । मैले अमेरिका नै रोजेँ ।’ सरकारी कर्मचारीका रुपमा कैलालीतिर गुड्न छाडेर विद्यार्थीका रुपमा अमेरिका उडेका घिमिरेले इस्टर्न इलिनोई युनिभर्सिटीबाट शैक्षिक प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

अमेरिका नगएको भए कस्तो हुन्थ्यो होला घिमिरेको यात्रा ? घिमिरे गफिए, ‘अमेरिका नगएको भए सचिव तहसम्म पुग्थेँ होला । बिएस्सीएजी पढ्ने बेलाका सहपाठी गोविन्द शर्मा अहिले कृषि सचिव छन् । मेरो हैसियत पनि त्यस्तै केही हुने थियो होला अमेरिका नगएको भए ।’

आफू सुखको खोजीमा अमेरिका गएको बताउने घिमिरे भन्छन्, ‘सुरुमा सुख त होइन, दुःखसँग साक्षात्कार भयो अमेरिकामा । जेठो सन्तान भएकोले घरमा पुल्पुलिएर पालिएको मैले अमेरिका पुगेपछि अकल्पनीय संघर्ष गर्नुप¥यो, दुःख झेल्नुप¥यो । वास्तविकतामा अमेरिकालाई आफूले सोचेजस्तो नपाएपछि थोरै हतप्रभ पनि भएँ म ।’

अमेरिकामा पाँच वर्ष बिताएपछि घिमिरे नेपाल फर्किए । उनको सोच त अब अमेरिका नफर्कने भन्ने थियो । तर समयलाई शायद यो मञ्जुर थिएन । त्यसैले अमेरिकाबाट नेपाल फर्किएको तीन वर्षपछि उनी पुनः अमेरिका उडे । नेपाल रहँदाको तीन वर्षमा उनले झापाकी रेखासँग बिहे गरिसकेका थिए । बिहेपछि पतिमात्र होइन, छोरी सुप्रियाको पितासमेत बनिसकेका थिए उनी ।

पति र पिता भएपछि उनलाई देशमै केही गरौँ भन्ने पनि लाग्यो । काठमाडौँमा त्रिभुवन विश्वविद्यालयमा सेरिड नामक संस्थाको लागि अनुसन्धानको काम गरेका घिमिरेले एक वर्षपछि काठमाडौँको पुतलीसडकमा शैक्षिक परामर्श संस्था खोले लमजुङका रमेश चिलुवालसँग मिलेर । यो संस्थाले पढ्नका लागि विदेश जाने विद्यार्थीहरुलाई सहयोग गर्ने काम गथ्र्यो । यसबीचमा घिमिरेले अमेरिकामा आयोजना हुने एउटा गोष्ठीमा कार्यपत्र प्रस्तुतिको अवसर पाए । भिसा लाग्यो पाँच वर्षको लागि । गोष्ठी सकिएपछि उनी अमेरिकामै रोकिए ।

‘पाँच वर्षको लागि भिसा लागेको थियो, उतै बसेँ । साढे २ वर्षपछि श्रीमती र छोरीलाई अमेरिका झिकाएँ’ पुराना दिन सम्झिए घिमिरेले । श्रीमती र छोरी अमेरिका पुगेपछि सन् २००९ मा उनी एक्लै नेपाल आएर तीन महिनामा फर्किए । सन् २०१२ मा भने सपरिवार नेपाल आएर एक महिनापछि अमेरिका फर्किए ।

सन् २०१४ मा छोरा आर्यनको जन्म भयो अमेरिकामै । छोराछोरी हुर्कन थाले । अमेरिकामै पढाई सुरु भयो छोराछोरीको । त्यसपछि घिमिरे र उनकी पत्नी नेपाल आउने र जाने क्रम एक्लाएक्लै भयो । छोराछोरीलाई लिएर आउँदा उनीहरुको पढाई बिग्रने र नलिई आउँदा एक जना अभिभावकले छाड्न नमिल्ने भएकोले यस्तो हुन पुगेको घिमिरेले प्रष्ट पारे । 

दुई महिनाअघि छोरा आर्यनलाई लिएर घिमिरे नेपाल आए । अमेरिकाको ग्रिनकार्ड होल्डर उनी अब अमेरिका फर्कन्छन् कि फर्कंदैनन् त ? जवाफमा उनले भने, ‘अमेरिका छँदा नेपाल घुम्ने हिसाबले आइन्थ्यो, अब अमेरिका घुम्ने हिसाबले गइन्छ, काम गर्ने हिसाबले गइँदैन ।’ छोरा आर्यनलाई ‘अटिजम’ नामक स्वास्थ्य समस्या भएकोले अबको बसाई काठमाडौँमा हुने उनले प्रष्ट पारे ।

पारिवारिक पृष्ठभूमि राजनीतिक भएर पनि होला, सुभाषको संगत सानै उमेरदेखि पुस्तकसँग हुन पुग्यो । विशेषगरी बिपी कोइरालाका पुस्तक पढेर उनको किशोर वय बित्यो । आमा शिक्षक, बुबा नेपाली कांग्रेसको राजनीतिक कार्यकर्ता । सानैदेखि बिपीको नाम सुनेर हुर्किए उनी । ‘सानैमा विभिन्न पुस्तक पढेर म भौतिक सुख, सुविधाको चाहना राख्ने भन्दा पनि भावुक खालको बनेँ । सम्पत्ति जोडौँ भन्ने कहिल्यै लागेन, यद्यपि केही जोडियो होला’ भावुक मुद्रामा उनी भन्छन्, ‘बिपीको साहसका कथा पढेर हुर्किएको मान्छे म, सात समुद्रपारि पुग्छु भन्ने कल्पना पनि थिएन । जीवन सोचेजस्तो भएन, तर अब मेरो जीवनको लगाम आफ्नो हातमा लिएको छु मैले । अबको जीवन आफूले चाहेको जसरी बिताउने छु ।’

जीवन यापनको लागि मात्रै जीवनको ऊर्जा खर्चनु भनेको जीवनको अवमूल्यन हो भन्ने लाग्छ घिमिरेलाई । जीवनमा मनको आदेश मानेर मनले चाहेको काम गरियो भने बल्ल जीवन सार्थक हुन्छ भन्ने निचोडमा पुगेका छन् उनी । ‘मानिस ब्रेड होइन, ब्रेनले संचालित हुन्छ’ भन्ने बिपी कोइरालाको भनाइले आफूलाई यो निचोडमा पुग्न सघाएको बताउँछन् घिमिरे । उनले आफ्नो जीवनमा बिपी कोइराला र हजुरआमाको प्रभाव परेको बताए ।

सुभाष र साहित्य

२०६४ सालतिर वरिष्ठ साहित्यकार सरुभक्तकोे चुली उपन्यास अनुवाद गरी द पिक नामक पुस्तक प्रकाशन गरेका घिमिरेले २०६६ सालतिर प्रदीप नेपालको ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ को अनुवाद गरेर प्रकाशित गरेका छन् । उनले यी दुई पुस्तक नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका हुन् । उनको प्रकाशोन्मुख पुस्तक ‘महान ग्याट्सबी’ अंग्रेजी भाषाको ‘द ग्रेट ग्याट्सबी’ बाट नेपालीमा अनुवाद गरिएको उपन्यास हो । उनले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका कथाहरु विभिन्न अनलाइनमा प्रकाशित भएका छन् । अनुवादकमा सीमित उनको परिचयलाई ‘अमेरिका अनुभूति’ ले लेखकमा बिस्तारित गरेको छ ।

त्यसो त राजनीतिमा पनि घिमिरेको संलग्नता उल्लेखनीय रहेको छ । पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले २०४२ सालमा आह्वान गरेको सत्याग्रहमा सहभागी घिमिरे सम्भवतः नेपालकै कान्छो सत्याग्रही थिए । २०४६ सालको जनआन्दोलनका बेला जेल परेका उनी २०६२–६३ सालको दोस्रो जनआन्दोलनका बेला भने अमेरिकामा थिए ।

नेपालदेखि अमेरिकासम्म, राजनीतिदेखि साहित्यसम्म विभिन्न भोगाई सँगालेका घिमिरे जीवनको प्राथमिकतालाई प्रष्ट पार्दै भन्छन्, ‘म स्रोतसाधनविहीन भएर बाँचेको छु । म स्रोतसाधनले सम्पन्न भएर पनि बाँचेको छु । जीवन यापनलाई सजिलो बनाउने पैसा साधन हो, यसलाई साध्य (लक्ष्य) बनाइनु हुँदैन ।’


Comments