गैँडाकोटका गतिशील गोपी

– सूर्यप्रकाश कँडेल –

बग्नु नदीको धर्म हो । गति समयको कर्म हो । स्थिर रहनु हिमालको विशेषता हो । खासमा अस्थिर ब्रह्माण्डमा स्थिर केही पनि छैन । हामीलाई लाग्छ, पृथ्वी स्थिर छ तर होइन । यो आफ्नो अक्षमा घुमिरहेको छ सूर्यलाई केन्द्र बनाएर । गतिशील पृथ्वीमाथि रहेका सबै कुरा अस्थिर छन् वा भनौँ गतिशील छन् । गति नै जीवन हो भन्ने बुझेका कवि, लेखक, निर्देशक, कलाकार गोपी सापकोटाले आफ्नो जीवनलाई गतिशील बनाए । उनी ताल झैँ स्थिर बसेनन्, नदी झैँ बगिरहे साहित्यिक यात्रामा, जीवनको गोरेटोमा । 

कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा नाटकहुँदै अहिले आख्यानमा आइपुगेको छ । डेढ वर्षअघि पहिलो आख्यान काँचो कागज पाठकमाझ ल्याएका गोपीले सम्भवतः अर्को वर्ष दोस्रो आख्यान पाठकसामु प्रस्तुत गर्ने छन् । त्यसपछि निबन्ध र संस्मरणको सँगालो आउने खुलासा गरेका छन् गैँडाकोटे गोपीले कुराकानीका क्रममा । जीवन निर्वाहका लागि गरिने कर्मसँगै साहित्यको यात्रामा अगाडि बढिरहेका गोपी गैँडाकोटबाट काठमाडौँ पुगे । अहिले केही वर्षयता उनी बेलायतमा छन् । सन् २०२२ मा दोस्रो पटक उनी गैँडाकोट आइपुगेका छन् । अघिल्लोपटक उनीसँग भलाकुसारी गर्ने मेसो जुरेन । यसपालि भने उनको व्यस्त समयलाई छोपेर साहित्यिक यात्राबारे कुराकानी भयो ।


२०५२ सालमा कवितासंग्रह ‘एक अन्त्य एक सुरुवात’बाट नेपाली साहित्यमा पदार्पण गरेका गोपीको साहित्यिक यात्रा पनि एक विधाको अन्त्य र अर्को विधाको सुरुवातका रुपमा अघि बढेको पाइन्छ । कवितापछि २०५५ सालमा उनले ‘पूर्णविराम’ नाटकसंग्रह प्रकाशित गरे । २०५७ सालमा उनको बालकथासंग्रह ‘कमिलाको सपना’ प्रकाशित भयो । २०६० सालमा ‘खरानी’ र २०६४ सालमा ‘कालो आकृति’ नाटकसंग्रह प्रकाशित भए । यसबीचमा २०६३ सालमा उनले ‘गुलाफको एस्ट्रेमा मृत्यु’ कवितासंग्रह ल्याए । २०६७ सालमा भने उनले अंग्रेजी कविताहरुको सँगालो ‘अ सुसाइड नोट’ ल्याए । त्यसपछि २०६९ सालमा आयो ‘प्रेम कतिपय’ नाटकसंग्रह । त्यसको आठ वर्षपछि २०७७ फागुनमा आयो ‘काँचो कागज’ आख्यानका रुपमा ।

सापकोटाको साहित्ययात्रा

गैँडाकोटमा बाल्यकाल बिताएका गोपीले २०४५ सालमा एसएलसी दिए । त्यही वर्ष पहिलोपटक उनको रचना ‘मैले गुप्तचरहरुबाट पाएको सन्देश’ शीर्षकको कविता ‘शहीद’ पत्रिकामा छापियो । त्यसपछि मधुपर्क र नवकवितामा उनका रचना आउन थाले । उनको लेखन कार्य भने बाल्यकालबाटै सुरु भइसकेको थियो । कक्षा ३ मा पढ्दै गर्दा राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा निबन्ध लेखन प्रतियोगिता भयो उनी पढ्ने विद्यालयमा । यो २०३८ सालतिरको कुरा हो । गोपीले पनि निबन्ध लेखे ‘श्री ५ वीरेन्द्र र नेपाल’ शीर्षकमा । दोस्रोे भए । पुरस्कार पाए । खुसीमाथि हौसला थपियो । २०४७ सालतिर नारायणी कला मन्दिर नारायणगढको मुखपत्र ‘मारुनी’मा आफ्नो एकांकी नाटक छापिएको सम्झिन्छन् उनी ।

नाटक लेखनसँगै मञ्चनतिर लागे उनी । २०४९ सालमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता भयो सडक नाट्य समूह । यो समूहको मुख्य हर्ताकर्ता गोपी नै थिए । ‘समूह दर्ता गरेपछि सडक नाटक ग¥यौँ, मञ्चमा नाटक खेल्यौँ’ पुराना दिन सम्झँदै उनी भन्छन्, ‘स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भाग लियौँ ।’ समूह दर्ता भएपछि पहिलोपटक गैँडाकोट कालिका माध्यमिक विद्यालयको चौरमा ‘क्रमशः यात्रा’ नाटक मञ्चन गरिएको गोपीले जानकारी गराए । यो नाटक अशेष मल्लले लेखेका हुन् ।

पछिका अधिकांश नाटक, जो सडक नाट्य समूहले प्रदर्शन ग¥यो, ती गोपी आफैले लेखे, निर्देशन गरे । भन्छन्, ‘२०४९ देखि ५४ सालसम्म नाटकमा सक्रिय रह्यौँ । करिब ३० वटा नाटक ग¥यौँ । ५ वटाबाहेक सबै मैले नै निर्देशन गरेँ ।’ लेखन र निर्देशनबाहेक केही नाटकमा गोपीले कहिले नायक, कहिले खलनायक र कहिले चरित्र अभिनेताको भूमिका निर्वाह गरे ।

नाटक लेखन, निर्देशन र अभिनयमध्ये कुन पक्ष सजिलो लाग्यो त गोपीलाई ? यो जिज्ञासा सम्बोधन गर्दै उनी भन्छन्, ‘मैले ‘इन्जोय’ गरेको लेखन र निर्देशन नै हो । आफूले लेखेको नाटक आफैले निर्देशन गर्दा सजिलो पनि महसुस गरेको छु ।’

नाटक नै प्यारो

नाटक र कवितामध्ये कुनै एउटा छान्नु प¥यो भने के छान्छन् होला गोपी ? सोधियो उनलाई, जवाफ यस्तो आयो, ‘नाटक र कवितामध्ये म नाटक नै छान्छु । नाटक लेखेरमात्र हुँदैन, त्यसलाई मञ्चन पनि गर्नुपर्छ । नाटकले एउटा प्रतिबद्धता खोज्छ, त्यो दिन सकिएन भने नाटक अगाडि बढ्न सक्दैन ।’ नाटक मञ्चनको उपयुक्त व्यवस्था हुन नसक्दा वर्तमानमा नाटक हराएजस्तो देखिएको उनको ठम्याई छ ।

२०४९ सालमा नाट्य समूह निर्माण गरेर अगाडि बढ्दै गर्दा गोपी पढाईको सिलसिलामा काठमाडौँ पुगे । त्यहाँ पुगेर पढाईसँगै उनले नाटक लेखनलाई पनि अगाडि बढाए । रेडियो नेपालबाट प्रसारण हुने ‘हातेमालो’ कार्यक्रमका लागि करिब २ दर्जन नाटक लेखे । त्यसवापत पारिश्रमिक पनि बुझे । यता नाट्य समूहले ‘रानो’ गुमायो । सडक नाटक प्रदर्शनको गति अवरुद्ध बन्यो ।

नाटकको पुनरुत्थानका लागि युवापुस्ता अगाडि आउनु पर्ने उनको धारणा छ । कलाकारिताबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था भए कोही कलाकार आफ्नो क्षेत्रबाट पलायन हुन नपर्ने उनी बताउँछन् । भन्छन्, ‘नाटकलाई पुनरुत्थान गर्न युवा पुस्ता उत्प्रेरित भएर लाग्नु पर्छ । उनीहरुलाई उत्प्रेरित गर्न नसक्नु हाम्रो कमजोरी हो । राज्यको पनि कमजोरी हो । हामीले पनि दोस्रो पंक्ति तयार गर्नुपर्ने थियो, तयार गर्न सकेनौँ । युवा पुस्ता अगाडि आयो भने नाटकले पुनर्जीवन प्राप्त गर्छ भन्नेमा म विश्वस्त छु, आशावादी छु ।’ राज्यको दृष्टिमा नाटक विधा अरुको तुलनामा कम प्राथमिकतामा परेको हुनाले नाटकको विकास हुन सकेन कि भन्ने गोपीलाई लागेको छ ।

नाटक लोप भयो भने साहित्यमा के घाटा पुग्छ त ? यो प्रश्न सुनेपछि गम्भीर देखिएका गोपी भन्छन्, ‘नाटक साहित्यको विशिष्ट विधा हो । सिनेमा रेकर्डेड हुन्छ, नाटक जीवन्त हुन्छ । नाटक प्रत्यक्ष हेर्न पाइन्छ । नाटकको महत्व छुट्टै छ । यसलाई मर्न दिन हुँदैन । विदेशतिर पनि अहिलेसम्म नाटक जीवितै छ । एक प्रकारको विशेष वर्गले नाटक हेर्छ । नाटक गम्भीर विधा हो साहित्यको ।’

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला