विकूको यात्रा : मासिक ५० पैसादेखि क्युआर कोडसम्म

 सूर्यप्रकाश कँडेल/

गैँडाकोटका २६ जना युवा मिलेर ३१ वर्षअघि बचत अभियान सुरु गरे । अहिले सुन्दा अचम्म लाग्छ, उनीहरुले जनही महिनाको ५० पैसाका दरले १३ रुपैयाँ जम्मा गर्थे । २६ जनाको समूहको नाम थियो विजय युथ क्रेडिट कोअपरेटिभ युनियन । यही युनियनको छोटकरी नाम हो विकू । विकूको ५० पैसाबाट सुरु भएको आर्थिक समृद्धिको यात्रा अहिले क्युआर कोडसम्म पुगेको छ ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गैँडाकोट नगरपालिका–८, विजयनगरमा केन्द्रीय कार्यालय छ । नवलपरासी (ब.सु.पू.) मा विकूका १९ वटा र छिमेकी जिल्ला चितवनमा ३ वटा सेवा केन्द्रहरु छन् । केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट विकूले एटीएम, एसएमएस, स्मार्ट बैंकिङलगायत पछिल्लोपटक क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको छ । 

विकू बचतका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल बुधबार दिउँसो गैँडाकोट–७, गैरीमा भेटिनुभयो । लस्करै ठाउँठाउँमा मकै पोल्न बसेका महिलाहरुमध्ये एक ४९ वर्षीया सुमित्रा दराईको मकै पसल अगाडि भेटिनु भएका पौडेलले दराईलाई क्युआर कोड हस्तान्तरण गर्नुभयो । उहाँसँगै आएका विकूका दुई जना कर्मचारीले दराईलाई क्युआर कोडबाट पैसा तिरेको कसरी थाहा पाउने भनेर सिकाए ।

क्युआर कोड देखेर दंग पर्नुभएकी दराईले मकैको व्यापार सुरु गरेको एक वर्ष भयो । उहाँले पोलेको मकै किनेर एक जना ग्राहकले क्युआर कोडमार्फत् ३० रुपैयाँ भुक्तानी गरे । दराईको सामान्यखालको मोबाइल (बारफोन) मा म्यासेज आगमनको ध्वनि बज्यो । उहाँले मोबाइल हेरेर भन्नुभयो, ‘आयो, आयो ।’ कस्तो लाग्यो त यो प्रविधि भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘यो नहुँदा कहिलेकाहीँ खुद्रा पैसाको समस्या पथ्र्यो । एउटा मकै किनेर हजारको नोट तेस्र्याउँथे कसैकसैले । अब त यसमा तिर्नुस् भनेर अगाडि राखिदिएपछि पैसा सिधै विकूमा रहेको मेरो खातामा जम्मा हुने रहेछ । अनि खातामा पैसा जम्मा भएको जानकारी मोबाइलमा आउँदोरहेछ । गज्जब लाग्यो मलाई त ।’

०००

गैँडाकोट–७ मा सडकछेउ पोलेको र हरियो मकै बिक्री गर्ने पसल डेढ दर्जन छन् । तीमध्ये शितलनगरचोकस्थित एउटा पसल ३८ वर्षीय सुन्दरबहादुर दराईको हो । १० वर्षयता गैँडाकोटमा बस्दै आउनु भएका दराईले गाडी चलाउन छाडेर मकै बेच्न थालेको चार महिना भयो । दिनको ५० देखि ६० खोगा मकै बिक्री हुने गरेको जानकारी दिँदै उहाँले दिनमा खर्च कटाएर सात सय रुपैयाँ बचत हुने गरेको बताउनु भयो । 

उहाँको पसलमा पनि विकू बचतले दिएको क्युआर कोड राखिएको छ । त्यही क्युआर कोड स्क्यान गर्दै एक जना ग्राहकले ६ वटा पोलेको मकैको १ सय ८० रुपैयाँ भुक्तानी गरे । ग्राहकलाई क्युआर कोडको सेवा दिन पाउँदा दंग देखिनु भएका दराई भन्नुहुन्छ, ‘यो लिएको १५ दिन भयो । मकै किन्नेले यसबाट पैसा तिरेपछि मेरो मोबाइलमा म्यासेज आउँछ । सजिलो भएको छ । धन्यवाद छ विकूलाई ।’

गैँडाकोट–७, गैरीमा मकै पोल्दै गर्नुभएकी २७ वर्षीया जुनु परियारले पनि विकूबाट १५ दिनअघि क्युआर कोड सेवा लिनुभएको छ । ९ महिना भयो उहाँले गैरीमा मकै पोल्न थालेको । उहाँका श्रीमान गोपाल गाडी चलाउनु हुन्छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्ममा सयदेखि १ सय २० खोगा मकै बिक्री हुने गरेको जानकारी दिँदै परियार भन्नुहुन्छ, ‘पोलेको मकै ३० रुपैयाँ खोगा र काँचो मकै सयको ८ खोगा दिने गरेकी छु । क्युआर कोडबाट पैसा तिरेको म्यासेज मोबाइलमा आउँछ । पैसाचाहिँ विकूमा रहेको मेरो खातामा जम्मा हुन्छ ।’

विकू बचतका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले विकूबाट हालसम्म तीन हजारभन्दा बढी ठाउँमा क्युआर कोड दिइएको जानकारी दिनुभयो । यसरी क्युआर कोड सेवा लिनेहरुमा सडकमा व्यापार गर्नेदेखि तीनतारे होटेलसम्म रहेको पौडेलले बताउनु भयो । आफ्ना ग्राहकलाई प्रविधिमैत्री सेवा दिने उद्देश्य अनुरुप क्युआर कोड वितरण गरिएको उहाँको भनाइ छ ।

हिजो २६ जना युवाले महिनाको ५० पैसा जम्मा गरेर सुरु गरेको बचत अभियान आज विकू बचत तथा ऋण सहकारीको ठूलो छहारी बन्न पुगेको छ । २०४८ साल भदौ ५ गते जन्मिएको विकू अहिले ३१ वर्षे लक्का जवान भएको छ । हरेक ठूला कामको सुरुवात सानोबाटै हुन्छ भन्ने ज्वलन्त उदाहरण हो विकू । विकूबाट अन्य सहकारीले पनि सिक्न आवश्यक छ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला