माइलाको पाइला कविता, गजल, हाइकूहुँदै कथातिर

 – सूर्यप्रकाश कँडेल

किरण, प्रकाश र ज्योति । तीनै नाम उज्यालोका प्रतीक । तीन जना पौडेल दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा । चुडामणि र गोमादेवीका तीन उज्यालामध्ये ज्योति असमयमै निभ्यो । किरण र प्रकाश चम्किरहेका छन् । चम्किरहेका दुई उज्यालामध्ये एक हुन् प्रकाश पौडेल ‘माइला’ ।



माइलाको जन्म महिना हो चैत । जन्मदिन हो चैतको पहिलो दिन । यसपालि मंगलबार परेको थियो चैत १ गते । चैतको दोस्रो मंगलबार अर्थात् चैत ८ गते उनी भेटिए नारायणगढस्थित सम्पूर्ण किताबमा । १६ वर्षदेखि जापानको योकोहामा शहरमा छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा जापन पुगेका माइलाले हाल योकोहामा शहरमा रेस्टुरेण्ट चलाएका छन् । उनलाई साथ दिएकी छिन् उनकी जीवनसाथी भूमिका अधिकारीले । वर्षमा एकपटक पश्चिमी चितवनको भीमनगरस्थित घरमा आइरहने माइला यसपटक घर आएका बेला उनीसँग सम्पूर्ण किताबमा जम्काभेट भएको हो ।

वर्ष २०२०–२२ का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष बनेका माइलासँग भेट हुँदा कुराकानीको नदी नबग्ने त कुरै भएन । खोतल्न थालेँ उनको विगत । पढाईदेखि साहित्ययात्रासम्मका कुरा भए । अनि भए उनी साधनारत साहित्यका विधा कविता, गजल, हाइकू र कथाका कुरा ।

पढाईयात्रा

माइलाको बाल्यकाल भीमनगरमा बित्यो । प्रारम्भिक शिक्षा उनले भीमनगर माध्यमिक विद्यालयबाट लिए । विद्यालय पढ्दादेखि नै उनी साहित्यतिर आकर्षित थिए । ६ कक्षामा पढ्दा विद्यालयमा कविता प्रतियोगिता भयो । उनले पनि प्रतियोगितामा भाग लिए । नतिजा आउँदा उनी तृतीय भए ।

पार्वतीपुर माध्यमिक विद्यालयबाट २०५४ सालमा एसएलसी दिएका उनी उच्चशिक्षाका लागि काठमाडौँ हानिए । काठमाडौँमा दाजु किरणसँगै बसेर सरस्वती क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे २०५७ सालमा । उनको पढाई सकिनु र दाजुको सशस्त्र प्रहरी सेवामा प्रवेश हुनु सँगसँगै जस्तो भयो । एक्लै काठमाडौँमा बस्नु पर्ने भएपछि उनी थप पढाईका लागि चितवन फर्किए ।

बालकुमारी कलेजबाट २०६१ सालमा वाणिज्यशास्त्रमा स्नातक तह (बिबिएस) उत्तीर्ण भएपछि उनी २०६२ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगे ।

साहित्ययात्रा

विद्यालय पढ्दा कविता लेख्दै आएका माइला काठमाडौँमा पढ्न बस्दा गजलतिर लागे । ५० को दशकमा गजलको बाढी नै आएको थियो नेपालमा । त्यसबाट उनी अछुतो रहन सकेनन् । त्यसमाथि त्यतिबेला चलेको हवाइपत्रिकाको लहरले उनलाई साहित्यमा परैसम्म हुत्यायो । भन्छन्, ‘५० रुपैयाँ तिरेर हवाइपत्रिकाको वार्षिक ग्राहक बनेर पढियो । कलेजमै आउँथे देशका विभिन्न भागबाट निस्केका हवाइपत्रिका । एक–दुई अंकपछि हवाइपत्रिकाभित्र एउटा चिट आउँथ्यो वार्षिक ग्राहक बन्न अनुरोध गर्दै । रमाइला थिए ती दिन ।’

काठमाडौँमा छँदै उनको हातमा एउटा किताब प¥यो, ‘जापनी हाइकू ः हिजो र आज’ । प्राध्यापक अभि सुवेदीद्वारा लिखित उक्त किताब पढेपछि उनी हाइकूतर्फ मोडिए । ‘किन ?’ उनी भन्छन्, ‘गजलको बाढीमा हराउने डर भयो । हाइकूमा थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिने रहेछ । जसले पनि गजल लेख्ने त्यो समयमा हाइकू लेख्ने निकै कम थिए । हाइकूमै आफ्नो पहिचान खोज्दै २०५५ सालदेखि हाइकूयात्रा सुरु गरेँ । मिडियाको नजरमा परेपछि स्थापित हुन सजिलो भयो ।’

चितवन फर्केर स्नातक तहमा अध्ययनरत छँदा २०६१ सालमा माइलाको पहिलो हाइकूसंग्रह पर्दाफास प्रकाशित भयो । चितवन साहित्य परिषद्ले पर्दाफास प्रकाशित गरिदियो । यसपछि हाइकूमै अगाडि बढ्ने हौसला पाए माइलाले । जापान पुगेको १३ वर्षपछि नेपाल फर्किएका बेला उनले हजार हाइकू नामक संयुक्त हाइकूसंग्रह निकाले रामकुमार पाँडेसँग मिलेर । हजार हाइकूमा माइला र पाँडेका हाइकू आधाआधा छन् । अनि छन् हाइकूसम्बन्धी लेख । शिखा बुक्सबाट प्रकाशित उक्त पुस्तकमा पाँडेले हाइकूको नेपालको इतिहास र अवस्था लेखेका छन् भने माइलाले जापानी हाइकू साहित्यको इतिहास र सेरोफेरो ।

‘मेरो लागि रामकुमार पाँडे हाइकूको गुरु हुनुहुन्छ’ पाँडेसँग मिलेर संयुक्त कृति निकाल्नुको रहस्य ओकल्दै उनी भन्छन्, ‘नेपालमा हाइकू लेख्ने मान्छे को छन् त भनेर खोज्द जाँदा काठमाडौँमा रामकुमार पाँडे सरसँग चिनजान भयो । हामीले नेपाल हाइकू केन्द्र स्थापना गरेका छौँ ।’

साहित्यकार पाँडे केन्द्रको अध्यक्ष हुन् । माइला केन्द्रको अन्तर्राष्ट्रिय संयोजक छन् । हाइकूमा आफूलाई स्थापित गरेका माइला पछिल्लो समय भने कथा लेखनतिर लागेका छन् । कारण बताउँदै उनले भने, ‘५–७–५ अक्षरमा लेखिने तीन पंक्तिको हाइकू हेर्दा सानो भए पनि यसले व्यक्त गर्ने भाव ठूलो हुन्छ । तर मानिसहरुले हाइकूलाई रचना नै होइन जस्तो व्यवहार गरे । अरु लेख्न नसक्नेले मात्रै हाइकू लेख्ने हो जस्तो सोच्दारहेछन् । मानिसको यही सोचाइलाई गलत साबित गर्न कथासंग्रहको तयारीमा जुटेको छु ।’

प्रकाशोन्मुख कथासंग्रहको नामकरण जापानी नामबाट गर्ने सोचाइ बनाएका माइलाले उक्त कथासंग्रहमा १५ वटा कथा रहने बताए । ती कथामध्ये आधाजसो नेपाली पृष्ठभूमिका र बाँकी जापानी पृष्ठभूमिका रहने उनले खुलाए । ‘मेरो नाम हाइकूसँग मात्रै नजोडियोस् भन्नका लागि कथातिर मोडिएँ’ माइला भन्छन्, ‘केही लामा र केही छोटा कथा समेट्ने विचारमा छु । ती कथा सामाजिक, व्यक्तिप्रधान, नोस्टाल्जिक (बाल्यकालीन) र डायस्पोरिक (वैदेशिक) हुने छन् । २०७९ साल असारसम्ममा यो कथासंग्रह पाठकको हातमा आइपुग्नेछ ।’

विदेशयात्रा

२०६२ सालमा जापान पुगेका माइलाले दुई वर्ष भाषा शिक्षा र अर्को दुई वर्ष सीपविकास तालिम (भोकेसनल ट्रेनिङ) लिएपछि आफ्नै व्यवसाय सुरु गरे सन् २०१० (२०६८ साल) मा । रेस्टुरेण्टमा काम गर्दै भाषा शिक्षा र तालिम पूरा गरेका माइलाले रेस्टुरेण्ट नै खोले । अहिले पनि चलिरहेछ उनको रेस्टुरेण्ट ।

आफैले व्यवसाय सुरु गरेपछि बल्ल माइलाले हाइकू लेखनलाई निरन्तरता दिन पाए । हाइकू लेख्ने फुर्सद नभए पनि उनी अनेसाससँग भने जापान पुगेपछि नै तत्काल जोडिए ।

अनेसासयात्रा

दुईवर्षे कार्यकाल रहने अनेसासमा उनी दुई कार्यकाल जापान च्याप्टरको उपाध्यक्ष भए । त्यसपछि एक कार्यकाल (२०११–१३) का लागि अनेसास जापान च्याप्टरको अध्यक्ष भए । यति भइसकेपछि अनेसासयात्रामा उनले केन्द्रीय समितिमा फड्को मारे । 

दुई कार्यकाल अनेसास केन्द्रीय उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएपछि हाल उनी अनेसास केन्द्रीय समितिको अध्यक्ष बनेका छन् । वर्ष २०२०–२२ का लागि उनी निर्विरोधरुपमा अध्यक्ष बनेका हुन् । अनेसासको उनी १५औँ अध्यक्ष हुन् ।

हाइकूको उत्थानयात्रा

पछिल्लो समय कथालेखनमा क्रियाशील भए पनि माइलाको मन भने हाइकूबाट हटेको छैन । हाइकूको सैद्धान्तिक र ऐतिहासिक पाटोमा कलम चलाइसकेका उनले हाइकू विधाको जननी देश जापानमा हाइकू सम्राट माचुओ वासुको मिएप्रिपेक्चरस्थित जन्मघरमा समेत पाइला टेकेका छन् । यसका लागि उनले आफू बस्दै आएको जापानको दोस्रो ठूलो सहर योकोहामाबाट ५ सय ५० किलोमिटरको यात्रा गरे ।

हाइकूको उत्थानमा लागेका माइला वल्र्ड हाइकू एसोसिएसनको कार्यकारी सदस्य समेत हुन् । भन्छन्, ‘साहित्यको जुन विधामा रुचि थियो, त्यही विधाको जननी देश जान पाउँदा धेरै खुसी भएँ । त्यहाँ पुगेपछि भाषाको कारण हाइकूको जरा पत्ता लगाउन भने गाह्रो परेको थियो । मैले हार नमानीकन हाइकूको इतिहास खोतलेरै छाडेँ ।’

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह