माइलाको पाइला कविता, गजल, हाइकूहुँदै कथातिर

 – सूर्यप्रकाश कँडेल

किरण, प्रकाश र ज्योति । तीनै नाम उज्यालोका प्रतीक । तीन जना पौडेल दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा । चुडामणि र गोमादेवीका तीन उज्यालामध्ये ज्योति असमयमै निभ्यो । किरण र प्रकाश चम्किरहेका छन् । चम्किरहेका दुई उज्यालामध्ये एक हुन् प्रकाश पौडेल ‘माइला’ ।



माइलाको जन्म महिना हो चैत । जन्मदिन हो चैतको पहिलो दिन । यसपालि मंगलबार परेको थियो चैत १ गते । चैतको दोस्रो मंगलबार अर्थात् चैत ८ गते उनी भेटिए नारायणगढस्थित सम्पूर्ण किताबमा । १६ वर्षदेखि जापानको योकोहामा शहरमा छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा जापन पुगेका माइलाले हाल योकोहामा शहरमा रेस्टुरेण्ट चलाएका छन् । उनलाई साथ दिएकी छिन् उनकी जीवनसाथी भूमिका अधिकारीले । वर्षमा एकपटक पश्चिमी चितवनको भीमनगरस्थित घरमा आइरहने माइला यसपटक घर आएका बेला उनीसँग सम्पूर्ण किताबमा जम्काभेट भएको हो ।

वर्ष २०२०–२२ का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष बनेका माइलासँग भेट हुँदा कुराकानीको नदी नबग्ने त कुरै भएन । खोतल्न थालेँ उनको विगत । पढाईदेखि साहित्ययात्रासम्मका कुरा भए । अनि भए उनी साधनारत साहित्यका विधा कविता, गजल, हाइकू र कथाका कुरा ।

पढाईयात्रा

माइलाको बाल्यकाल भीमनगरमा बित्यो । प्रारम्भिक शिक्षा उनले भीमनगर माध्यमिक विद्यालयबाट लिए । विद्यालय पढ्दादेखि नै उनी साहित्यतिर आकर्षित थिए । ६ कक्षामा पढ्दा विद्यालयमा कविता प्रतियोगिता भयो । उनले पनि प्रतियोगितामा भाग लिए । नतिजा आउँदा उनी तृतीय भए ।

पार्वतीपुर माध्यमिक विद्यालयबाट २०५४ सालमा एसएलसी दिएका उनी उच्चशिक्षाका लागि काठमाडौँ हानिए । काठमाडौँमा दाजु किरणसँगै बसेर सरस्वती क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे २०५७ सालमा । उनको पढाई सकिनु र दाजुको सशस्त्र प्रहरी सेवामा प्रवेश हुनु सँगसँगै जस्तो भयो । एक्लै काठमाडौँमा बस्नु पर्ने भएपछि उनी थप पढाईका लागि चितवन फर्किए ।

बालकुमारी कलेजबाट २०६१ सालमा वाणिज्यशास्त्रमा स्नातक तह (बिबिएस) उत्तीर्ण भएपछि उनी २०६२ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगे ।

साहित्ययात्रा

विद्यालय पढ्दा कविता लेख्दै आएका माइला काठमाडौँमा पढ्न बस्दा गजलतिर लागे । ५० को दशकमा गजलको बाढी नै आएको थियो नेपालमा । त्यसबाट उनी अछुतो रहन सकेनन् । त्यसमाथि त्यतिबेला चलेको हवाइपत्रिकाको लहरले उनलाई साहित्यमा परैसम्म हुत्यायो । भन्छन्, ‘५० रुपैयाँ तिरेर हवाइपत्रिकाको वार्षिक ग्राहक बनेर पढियो । कलेजमै आउँथे देशका विभिन्न भागबाट निस्केका हवाइपत्रिका । एक–दुई अंकपछि हवाइपत्रिकाभित्र एउटा चिट आउँथ्यो वार्षिक ग्राहक बन्न अनुरोध गर्दै । रमाइला थिए ती दिन ।’

काठमाडौँमा छँदै उनको हातमा एउटा किताब प¥यो, ‘जापनी हाइकू ः हिजो र आज’ । प्राध्यापक अभि सुवेदीद्वारा लिखित उक्त किताब पढेपछि उनी हाइकूतर्फ मोडिए । ‘किन ?’ उनी भन्छन्, ‘गजलको बाढीमा हराउने डर भयो । हाइकूमा थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिने रहेछ । जसले पनि गजल लेख्ने त्यो समयमा हाइकू लेख्ने निकै कम थिए । हाइकूमै आफ्नो पहिचान खोज्दै २०५५ सालदेखि हाइकूयात्रा सुरु गरेँ । मिडियाको नजरमा परेपछि स्थापित हुन सजिलो भयो ।’

चितवन फर्केर स्नातक तहमा अध्ययनरत छँदा २०६१ सालमा माइलाको पहिलो हाइकूसंग्रह पर्दाफास प्रकाशित भयो । चितवन साहित्य परिषद्ले पर्दाफास प्रकाशित गरिदियो । यसपछि हाइकूमै अगाडि बढ्ने हौसला पाए माइलाले । जापान पुगेको १३ वर्षपछि नेपाल फर्किएका बेला उनले हजार हाइकू नामक संयुक्त हाइकूसंग्रह निकाले रामकुमार पाँडेसँग मिलेर । हजार हाइकूमा माइला र पाँडेका हाइकू आधाआधा छन् । अनि छन् हाइकूसम्बन्धी लेख । शिखा बुक्सबाट प्रकाशित उक्त पुस्तकमा पाँडेले हाइकूको नेपालको इतिहास र अवस्था लेखेका छन् भने माइलाले जापानी हाइकू साहित्यको इतिहास र सेरोफेरो ।

‘मेरो लागि रामकुमार पाँडे हाइकूको गुरु हुनुहुन्छ’ पाँडेसँग मिलेर संयुक्त कृति निकाल्नुको रहस्य ओकल्दै उनी भन्छन्, ‘नेपालमा हाइकू लेख्ने मान्छे को छन् त भनेर खोज्द जाँदा काठमाडौँमा रामकुमार पाँडे सरसँग चिनजान भयो । हामीले नेपाल हाइकू केन्द्र स्थापना गरेका छौँ ।’

साहित्यकार पाँडे केन्द्रको अध्यक्ष हुन् । माइला केन्द्रको अन्तर्राष्ट्रिय संयोजक छन् । हाइकूमा आफूलाई स्थापित गरेका माइला पछिल्लो समय भने कथा लेखनतिर लागेका छन् । कारण बताउँदै उनले भने, ‘५–७–५ अक्षरमा लेखिने तीन पंक्तिको हाइकू हेर्दा सानो भए पनि यसले व्यक्त गर्ने भाव ठूलो हुन्छ । तर मानिसहरुले हाइकूलाई रचना नै होइन जस्तो व्यवहार गरे । अरु लेख्न नसक्नेले मात्रै हाइकू लेख्ने हो जस्तो सोच्दारहेछन् । मानिसको यही सोचाइलाई गलत साबित गर्न कथासंग्रहको तयारीमा जुटेको छु ।’

प्रकाशोन्मुख कथासंग्रहको नामकरण जापानी नामबाट गर्ने सोचाइ बनाएका माइलाले उक्त कथासंग्रहमा १५ वटा कथा रहने बताए । ती कथामध्ये आधाजसो नेपाली पृष्ठभूमिका र बाँकी जापानी पृष्ठभूमिका रहने उनले खुलाए । ‘मेरो नाम हाइकूसँग मात्रै नजोडियोस् भन्नका लागि कथातिर मोडिएँ’ माइला भन्छन्, ‘केही लामा र केही छोटा कथा समेट्ने विचारमा छु । ती कथा सामाजिक, व्यक्तिप्रधान, नोस्टाल्जिक (बाल्यकालीन) र डायस्पोरिक (वैदेशिक) हुने छन् । २०७९ साल असारसम्ममा यो कथासंग्रह पाठकको हातमा आइपुग्नेछ ।’

विदेशयात्रा

२०६२ सालमा जापान पुगेका माइलाले दुई वर्ष भाषा शिक्षा र अर्को दुई वर्ष सीपविकास तालिम (भोकेसनल ट्रेनिङ) लिएपछि आफ्नै व्यवसाय सुरु गरे सन् २०१० (२०६८ साल) मा । रेस्टुरेण्टमा काम गर्दै भाषा शिक्षा र तालिम पूरा गरेका माइलाले रेस्टुरेण्ट नै खोले । अहिले पनि चलिरहेछ उनको रेस्टुरेण्ट ।

आफैले व्यवसाय सुरु गरेपछि बल्ल माइलाले हाइकू लेखनलाई निरन्तरता दिन पाए । हाइकू लेख्ने फुर्सद नभए पनि उनी अनेसाससँग भने जापान पुगेपछि नै तत्काल जोडिए ।

अनेसासयात्रा

दुईवर्षे कार्यकाल रहने अनेसासमा उनी दुई कार्यकाल जापान च्याप्टरको उपाध्यक्ष भए । त्यसपछि एक कार्यकाल (२०११–१३) का लागि अनेसास जापान च्याप्टरको अध्यक्ष भए । यति भइसकेपछि अनेसासयात्रामा उनले केन्द्रीय समितिमा फड्को मारे । 

दुई कार्यकाल अनेसास केन्द्रीय उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएपछि हाल उनी अनेसास केन्द्रीय समितिको अध्यक्ष बनेका छन् । वर्ष २०२०–२२ का लागि उनी निर्विरोधरुपमा अध्यक्ष बनेका हुन् । अनेसासको उनी १५औँ अध्यक्ष हुन् ।

हाइकूको उत्थानयात्रा

पछिल्लो समय कथालेखनमा क्रियाशील भए पनि माइलाको मन भने हाइकूबाट हटेको छैन । हाइकूको सैद्धान्तिक र ऐतिहासिक पाटोमा कलम चलाइसकेका उनले हाइकू विधाको जननी देश जापानमा हाइकू सम्राट माचुओ वासुको मिएप्रिपेक्चरस्थित जन्मघरमा समेत पाइला टेकेका छन् । यसका लागि उनले आफू बस्दै आएको जापानको दोस्रो ठूलो सहर योकोहामाबाट ५ सय ५० किलोमिटरको यात्रा गरे ।

हाइकूको उत्थानमा लागेका माइला वल्र्ड हाइकू एसोसिएसनको कार्यकारी सदस्य समेत हुन् । भन्छन्, ‘साहित्यको जुन विधामा रुचि थियो, त्यही विधाको जननी देश जान पाउँदा धेरै खुसी भएँ । त्यहाँ पुगेपछि भाषाको कारण हाइकूको जरा पत्ता लगाउन भने गाह्रो परेको थियो । मैले हार नमानीकन हाइकूको इतिहास खोतलेरै छाडेँ ।’

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला