पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने ‘मोसो’

 – रमेशकुमार पौडेल

सूर्यप्रकाश कँडेल पेशाले पत्रकार हुन् । चितवनको पछिल्लो पुस्ताका अनुभवी पत्रकार कँडेल साहित्य सिर्जनामा पनि चासो राख्छन् । गजल रचना गर्दै आएका कँडेलले उपन्यास पनि लेखे । उनले लेखेको पहिलो कृति ‘मोसो’ उपन्यास २०७७ सालको मंसिरमा बजारमा आएको थियो । पत्रकारिताको मर्म र सिद्धान्तलाई जोगाएर कर्म गर्ने मात्र नभई भाषा व्याकरणमा पनि पोख्त मानिने पत्रकार कँडेलले ‘मोसो’ उपन्यासमा पत्रकार र पत्रकारिताकै कथा उनेका छन् । पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने उद्देश्यले उनले उपन्यासै लेखेका हुन् । 


पत्रकारले समाजमा सकारात्मक योगदान पु¥याउन मिहिनेत गर्नु पर्दछ । पत्रकारले दिने सूचनाबाट समाजले ज्ञान लिन्छ, र त्यो ज्ञान समाज सुधारमा भूमिका खेल्ने हुनु पर्दछ भन्ने पत्रकारिताको मान्यता हो । तर पत्रकार आफ्नो ‘धर्म’बाट बिचलित हुँदा समाज दिग्भ्रमित हुन्छ । यो गलत हो भनेर कल्ले भन्ने ? यो काममा पत्रकार नै अगाडि सर्नु पर्छ भनेर कँडेलले यो उपन्यास लेखेका हुन् । 

चितवनको इतिहास र चिनारी बोकेको चित्रसारी मन्दिर पुल छेउमा बिक्रीमा राखेको ‘ताजाताजा मोटामोटा उखु’बाट सुरु भएको उपन्यासको कथाक्रम सुनसान मध्यरातमा कराएको लाटोकोसेरो र ११ बजेको संकेत गरेको घडीको टङटङ आवाजसँगै सकिन्छ ।

पत्रकार रहेका उपन्यासको मुख्य पात्र एसपीको कलेज जीवन, दौतरीहरुसँगको बसउठ, छात्रा सहपाठीसँग बढेको हिमचिमसँगै अंकुराएको प्रेम र व्यक्त हुन नपाएको छटपटी बोकेर उपन्यासको कथाक्रम अगाडि बढ्छ । अनि पत्रकारिताको अँध्यारो, उज्यालो पाटो देखाउन थाल्छ । एसपी पत्रकारिता त गर्दछन् । तर उनी समाजलाई हैन आफूलाई फाइदा हुने उपायमा लाग्छन् । हेर्दाहेर्दै उनको जीवनशैली परिवर्तन हुन्छ । तर एसपीको रिपोर्टिङ यात्रा जारी नै छ । एक दिन रिपोर्टिङमा गएका बेलामा भागदौड हुँदा एक जना युवती अचनाक एसपीसँग ठोक्किन्छिन् । जो एसपीले मन पराएको, प्रेम गरेको तर भन्न नसकेको कलेजको साथी हुन् । एसपी आफ्नो पेशामा बेइमानी गरेर स्वार्थको शिखरतर्फ लम्कँदै छन् । त्यही बेला पुरानो प्रेमिका÷सहपाठीसँग भेट हुन्छ । उनीहरु सौराहामा रात बिताउन लाग्दैछन् । तर घरमा श्रीमतीलाई सौराहामा पर्यटन प्रवद्र्धनबारे पत्रकारहरुसँग राति अचानक कार्यक्रम प¥यो र यतै बसिने भइयो भन्ने ढाँट कुरा गर्छन् । 

उनै पुरानी सहपाठीसँग आफूले गर्दै गरेको ठगी पत्रकारिताको विवरण पेश गर्छन् एसपीले । अर्थात् उपन्यासमा पत्रकारिताको पेशागत निष्ठाको वकालत र बेइमानीको प्रसंगसँगै प्रेमको लेपन पनि छ । पत्रकारले ठेकेदार, प्रहरीसँग मिलेर केसम्म गर्न सक्छ ? आफ्नै ज्यान लिन तम्सनेहरुसँग पनि मोलमोलाई गरेर मालामाल हुन थाल्छ । यही कथा एसपीले उनलाई सुनाउँछन् । वैवाहिक जीवन बिग्रेपछि यौन बजारमा समेत पुगेकी एसपीकी ‘प्रेमीका’को नाम हो अञ्चला । जो अहिले ‘यौन पेशा’ छाडेर समाजसेवामा छिन् । तर एसपीले पत्रकारिताको आडमा गरेको कर्तुतप्रति अञ्चलाको आपत्ति छैन । बरु उनी आफ्नो संस्थालाई डोनेशन दिने मान्छे भेटियो भन्दै मख्ख पर्छिन् । र, रात छिप्पिएसँगै होटलमा एसपीसँग रतिरागका रंगीन कृयाकलापमा मग्न हुन्छिन् ।

‘समाजका विकृतिबारे पत्रकारले लेख्छन्, कसले लेख्छ पत्रकारिताको विकृतिबारे ?’ भन्ने प्रश्न गरेर उपन्यास लेखेका कँडेलले २३० पेजभित्र मान्छेका सुखदुःखका कथा, पेशाभित्र मौलाएका विकृतिका कुरा पस्कने जमर्को गरेका छन् । चितवनका अनुभवी पत्रकार कँडेलले राम्रो उद्देश्यले उपन्यास लेखे । पत्रकारिताको विकृति उधिन्ने प्रयास गरे । तर पत्रकारिताको विकृतिका कथा लेख्दै गर्दा उनले निर्माण गरेको पत्रकारको चरित्र, पत्रकारले कसरी आफ्नो स्वार्थका लागि समाचार, सूचना र सम्बन्धलाई दुरुपयोग गर्दछन् भन्ने घटनाक्रमहरु त्यत्ति सशक्त भने देखिँदैनन् । पत्रकारको ठग बुद्धि भयङ्कर हुन्छ भन्ने ज्ञान कँडेललाई भएकै हो । तर केके हर्कत गर्दै त्यो कुबुद्धिको शिखरसम्म पुग्छन् भन्ने पत्यारिला घटनाहरु ल्याउन कँडेलले अलि सकेका छैनन् ।

पत्रकारले स्वार्थलाई केन्द्रमा राख्दा समाजलाई घाटा पुग्छ । यो कुरा उपन्यासमा आएको छैन । जस्तै पत्रकारले कमाइ हुन्छ भनेर कुनै समाचार नलेख्दा, कुनै समाचारलाई बंग्याएर लेख्दा समाजले के मूल्य चुकायो ? त्यो विषय राख्नु पर्दथ्यो । त्यसैगरी पत्रकारिता क्षेत्रमा सप्पै पत्रकार बिग्रेका हैनन् । बिग्रेका पनि छन् । इमान्दार पनि छन् । दुवैथरी पात्रहरु उपन्यासमा उभ्याएको भए सन्देश अझै राम्रो जान्थ्यो । हुन त एकजना ‘भगवान दाइ’ नभएका हैनन् त्यहाँ । तर भगवान दाइ गफगाफ गर्ने पात्रका रुपमा मात्रै आएका छन् । पत्रकार भगवान दाइले गज्जबगज्जबका स्टोरीहरु लेखेर समाजको हित गरेको प्रसंग उपन्यासमा जोड्न आवश्यक थियो । 

भाषामा राम्रोसँग खेल्न सक्ने पत्रकार कँडेलले उपन्यासमा त्यो सीप मज्जैले प्रयोग गरेका छन् । विषय छनौट र लेखनशैली ठिकै हुँदाहुँदै पनि यो उपन्यास जस्तो हुनु पर्दथ्यो त्यस्तो भएन कि ? किनकि कथा बुन्न र त्यसलाई विश्वसनीय बनाउनका लागि पात्रहरुको खँदिलो चरित्र कोर्न कँडेलले अझै मिहेनत गर्नु पर्दथ्यो ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला