"मान्छेको लापरबाहीका कारण वन्यजन्तुले ज्यान गुमाउनु पर्ने घटना भविष्यमा कतै नहोस्"



चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा म¥यो । नाली निर्माण गर्न प्रयोग गरिएको रड गैँडाको पेटमा छिरेपछि खाडलबाट बाहिर निस्कन नसकेर १२ वर्षको भाले गैँडा मरेको थियो । मृत गैँडालाई एक्साभेटरको सहायताले खाडलबाट निकालिएको छ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको निकुञ्जले जनाएको छ । 

वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गर्दा दुर्लभ वन्यजन्तु गैँडाको ज्यान गएको छ । सडकले निर्माणपूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरिकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ । तर त्यस्तो अनुमति नलिई, सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी काम गराउँदा गैंडा मरेको छ । 

गैँडा मृत्यु प्रकरणले संरक्षण क्षेत्रमा गहिरो चिन्ता र चासो सिर्जना गरेको छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो ? शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो ? यस विषयसँगै समग्र प्रकरण बुझ्न वन मन्त्रालयले वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिनपछि दोषीमाथि कानुनी कारबाही हुने आशा गरौँ । तर अहिले भइरहेको खबरदारी जारी राख्नु पर्छ । 

बाहिरबाट हेर्दा यो प्रकरणमा सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी दोषी देखिएपनि वास्तवमा भरतपुर महानगरपालिका पनि उत्तिकै दोषी छ । महानगरले सडक ठेक्का दिने बेलामै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकनपछि मात्र काम सुरु गर्ने गरी ठेक्का लगाउनु पथ्र्यो । हतारमा काम सकेर वैशाखमा पदावधि सकिनुअघि नै कामको जस लिन महानगरले गरेको हतारोले दुर्लभ वन्यजन्तुको मृत्यु भएको छ ।

वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जको भनाइ छ । नालाको बाहिरी भागमा खाल्डोतर्फ भएको रड पेटमा रोपिएर गैँडा उठ्न नसकी मरेको छ । यहाँ ठेकेदार कम्पनीको लापरबाही स्पष्ट देखिन्छ । पशु अधिकारकर्मीहरुले घटनाको अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडक मुनिबाट वन्यजन्तु हिँड्ने बाटो) र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिँदा गैँडाको ज्यान गएको छ । 

निकुञ्जमा साउनयता २१ गैँडा मरेका छन् । जसमध्ये दुई चोरीशिकारीबाट मरेका हुन् भने अन्य प्राकृतिक र मानवीय लापरबाहीका कारण । मान्छेको लापरबाहीका कारण वन्यजन्तुले ज्यान गुमाउनु पर्ने घटना भविष्यमा कतै नहोस् । सबै मिलेर दुर्लभ गैँडा जोगाऔँ ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला