कोरोना कहर : भयावह दोस्रो लहर

- सूर्यप्रकाश कँडेल /

देशका ७० भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा जारी छ । पोहोर साल यतिबेला देशैभर बन्दाबन्दी (लकडाउन) थियो । विश्वलाई नै चपेटामा पारेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारण हामीहरुले पोहोर साल बन्दाबन्दी भोग्यौँ । यो वर्षारम्भमै निषेधाज्ञा भोग्नु परेको छ । पोहोर कोरोनाको पहिलो लहर थियो । यसपालि कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । 


कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले धेरै जनाको ज्यान लिएको छ । संक्रमण दर नपत्याउँदो पाराले बढिरहेको छ । पोहोर साल हामीले अचम्म मानेर खबर सुन्ने गरेका देश इटाली, फ्रान्स, अमेरिकाको नियति यसपालि भारतसँगै नेपालले भोगिरहेका छन् । अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । उपचार नपाएर मानिसहरु मृत्युको मुखमा पुग्न थालेका छन् । कोरोनाको कारण आइपरेको त्रासदीपूर्ण यो समयमा संयमता जरुरी छ । सरकारले पनि अक्सिजनकै अभावमा नागरिकको ज्यान जान नपाओस् भन्नेतर्फ ध्यान दिन आवश्यक छ । 

कोरोना संक्रमण फैलिन नदिनु नै अहिलेको अवस्थामा अल्पविराम लगाउने एकमात्र उपाय हो । अघिल्लो वर्ष आजको दिन अर्थात् जेठ ३ गतेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्म्या दुई सय ८१ थियो । तीमध्ये ३६ जना निको भएर घर फर्केका थिए । नेपालमा कोरोनाबाट पहिलो मृत्यु त्यही दिन काभ्रेकी एक जना २९ वर्षीया सुत्केरीको भएको थियो । आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ५ हजार नाघेको छ । कुल संक्रमित संख्या ४ लाख ५० हजारभन्दा माथि पुगेको छ । करिब साढे ३ लाख जनाले कोरोनालाई परास्त गरेपनि सक्रिय संक्रमितको संख्या १ लाख १० हजारभन्दा माथि नै छ । यो तथ्यांकले कोरोना भाइरसको संक्रमण दर कति उच्च छ भन्ने देखाउँछ । 

दोस्रो लहरसँगै देखा परेको कोरोना भाइरसको नयाँनयाँ म्युटेन्ट भेरिएन्ट झन्भन्दा झन् कडा स्वरुपमा देखा परेका छन् । पोहोर साल देखिएको चिनियाँ कोरोना भाइरसभन्दा यसवर्ष देखा परेका बेलायती र भारतीय भेरिएन्ट बढी खतरनाक पाइएका छन् । बढी संक्रामक र सिधै संक्रमितको फोक्सोमा असर गरेर अक्सिजन लिनु पर्ने अवस्थामा पु¥याउने अहिलेको कोरोना भेरिएन्टको असर कम गर्न तथा संक्रमण दरलाई न्यून गर्न स्थानीय प्रशासनले गत वैशाख १६ गते मध्यरातदेखि लगाएको निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म लम्ब्याइएको छ । वैशाखको अन्तिम दुई हप्ता चितवनमा निषेधाज्ञाको पालना केही खुकुलोरुपमा भएको पाइएपनि जेठको पहिलो दिनदेखि नै कठाईका साथ पालना भएको पाइएको छ । यतिबेला सडकमा तरकारी बोकेर गुड्ने अटोरिक्सा देखिँदैनन् । बिनाकाम लखरलखर हिँड्नेहरु पनि छैनन् । 

प्रशासनको कडाईसँग मानिसहरुमा डरको मात्रा बढेर पनि यो अवस्था आएको सहजै अनुमान गर्न सकिन्छ । अस्पतालहरुमा बेडको अभाव र अक्सिजनको हाहाकारका समाचार सुनेपछि सर्वसाधारणमा कोरोनाबाट बच्न घरमै बस्नुको विकल्प छैन भन्ने ज्ञान आएको छ । जेजस्तो भएपनि अबको दुई, तीनहप्ता घरमै बसेर कष्ट काट्ने हो भने कोरोनाको संक्रमण मत्थर हुँदै जानेछ भन्ने ज्ञान हामीहरुलाई कोरोनाको दोस्रो लहरले दिएको छ । यस कुरालाई गम्भीरतापूर्वक नलिएर अझै लापरबाही गर्ने हो भने त्यो कोरोनाको तेस्रो लहरको लागि निम्ताभन्दा अरु केही हुने छैन ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला