कोभिड १९ को महामारी : मेरो लकडाउन डायरी

- सूर्यप्रकाश कँडेल विश्व आज कोभिड १९ को महामारी विरुद्ध लडिरहेको छ । नेपाल यसबाट अछुतो रहने कुरै भएन । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनी नेपाल सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि वैशाख ३ गतेसम्म थपिएको छ । त्यसपछि पनि थपिने सम्भावना छ । लकडाउन हामी नेपालीहरुको लागि नयाँ अनुभव बनेको छ । यसअघि बन्द र आमहडताल भोगेका नेपालीले लकडाउनलाई पनि त्यही रुपमा बुझे । बिहान र साँझ दूध डेरी र किराना पसल अगाडि देखिने भीडले त्यही संकेत गर्छ । संचारकर्मी भएको नाताले मेरो कर्म हिजो माओवादी द्वन्द्व, जनआन्दोलन, नाकाबन्दी र भूकम्पमा रोकिएन । आज लकडाउन (बन्दाबन्दी) मा पनि रोकिएको छैन । मैले लकडाउनको पूर्णपालना गर्दै घरबाटै आफ्नो काम गरिरहेको छु । घरमा इन्टरनेट उपलब्ध भएकोले ल्यापटपमा काम गर्न सजिलो भएको छ । फोनबाट सूचना संकलन गरी समाचार तयार पार्ने गरेको छु । समाचारबाहेक कोरोना भाइरसको संक्रमण र यसले समाजका विभिन्न क्षेत्रमा पारेको असरबारे लेख पनि लेखियो । फिल्डमा कुद्नु पर्ने मान्छे घरभित्रै थुनिएर काम गर्नु पर्दा केही असहज त पक्कै भएको छ, तर कोरोना संक्रमणको साङ्...